३ जेष्ठ २०८१, बिहिबार

सहकारी पीडितहरूलाई न्याय दिलाउन सांसद दीपक गिरीको माग

प्रकाशित मिति :  1 March, 2024 2:11 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरीले देशभरिका सहकारी पीडितहरूलाई न्याय दिलाउन माग गरेका छन् ।

संघीय संसदमा आज विशेष समय लिएर बोल्दै सांसद गिरीले ३१ हजार भन्दा बढी सहकारीहरूमा झन्डै १४ लाख सदस्यले खाइ नखाई आफुहरुले बचत गरेको रकम डुबेको गुनासो गरिरहेको भन्दै न्याय दिलाउने जिम्मा सरकारको रहेको बताए ।

उनले भने,“ आम जनताको अबौँ रकम कहिले र कसरी फिर्ता हुने हो ? दोषीहरुले कहिले सजाय पाउने हुन् ? सरकारले जवाफ दिनु पर्‍यो।”

उनले जतिसुकै शक्तिशाली भए पनि सहकारीको पैसा हिनामिना गर्नेहरूलाई कडा कारवाही गर्न र पीडितहरूलाई पैसा फिर्ता गराउन आग्रह गरे ।

सांसद गिरीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले वाचा गरेको रकम तत्काल उपलब्ध गराउन पनि आग्रह गरे ।

“महावीर पुनले देशभर घुमेर आफ्नो जीवनीमा आधारित पुस्तक बेचेर तीन करोड रुपैयाँ संकलन गर्नु भएको छ। अब कृषि औजार कारखाना पुनः सचालन गर्नका लागि सरकारले प्रतिवद्धता गरेको रकम निकासा गरोस्,”उनले भने ।

यस्तै दाङका जनताको भाग्य र भविष्यसँग जोडिएको टरिगाउँ एयरपोर्टमा एटीआर विमान सञ्चालन गर्न मिल्ने गरी धावनमार्ग विस्तार गर्न उनले सरकारसँग माग पनि गरे ।



प्रतिक्रिया दिनुहोस !