१२ श्रावण २०८१, शनिबार

काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्न युवाहरुलाई वर्षमानको आह्वान

प्रकाशित मिति :  2 March, 2024 1:13 pm


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पालको आवश्यकता, नेपाली जनताको आकांक्षाअनुसार विकास हुन नसकेको बताएका छन्।

प्रथम शहीद स्मृति वागमती प्रदेश रनिङ शिल्ड भलिबल प्रतियोगिता तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रमलाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले गणतन्त्रको पछिल्लो १५ वर्षमा अझ तिब्रताका साथ विकास भएको दाबी गरे।

उदाहरण प्रश्तुत गर्दै उपमहासचिव पुनले पञ्चायत कालमा साढे ७ हजार किलोमटिर बाटो बनेकोमा पछिल्लो बहुदलको संसदीय समयमा १८ हजार किलोमिटर पुगेको र अहिले १ लाख किलोमिटर बाटो पुगेको बताए।

पुनले गणतन्त्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्यमा तिब्र विकास भएको चर्चा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तिब्र रुपले देशको विकास गर्ने संकल्प गरेकाले युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने बताए। उनले सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग आह्वान समेत गरे ।

पुनले भने, “प्रधानमन्त्रीज्युले सुशासन, समृद्धि र सामाजिक क्षेत्रमा तिब्र रुपले देशको विकास गर्ने संकल्प गर्नुभएको छ । काम गर्ने कोशिस गर्नुभएको छ । तपाईं युवाहरुले काम गर्ने हुटहुटी भएको प्रधानमन्त्रीलाई काम गर्ने संकल्प भएको प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने अवस्था आएको छ । सबै प्रकारका बेथिति र विकृतिको संघर्षमा सरकार र प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्नेछ ।”

उपमहासचिव पुनले युवाहरुले देशको भविष्यको बारेमा, राष्ट्रियताको बारेमा, राष्ट्रिय स्वाधिनताको बारेमा र समग्र नेपाली समाजको प्रगति र अग्रगतिको सन्दर्भमा चिन्ता व्यक्त गरिरहेको बताए।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !