२३ बैशाख २०८१, आइतबार

लकडाउनमा अनलाईनबाट सञ्चालन गरिएका पठनपाठनलाई औपचारिक मान्यता नदिन संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  6 May, 2020 7:53 pm


काठमाण्डौं, २४ वैशाख ।

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विश्वविद्यालय तथा विद्यालय तहहरुमा विभिन्न माध्यमबाट पठनपाठन भएको जानकारी आएको भन्दै त्यस्ता गतिविधिलाई औपचारिक मान्यता नदिन सरकारलाई निर्देशन दिएको छ ।

समितिको सिंहदरबारमा आज बसेको बैठकले अहिले स्वास्थ्य महत्वपूर्ण विषय भन्दै घरमा रहेका विद्यार्थीलाई अनलाईन लगायत विभिन्न माध्यमबाट पठनपाठन गराएको विषयलाई औपचारिक पठनपाठन नमानिने सुनिश्चिता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले,‘घरमा रहेका विद्यार्थीहरुलाई विद्यालयले विभिन्न माध्यामबाट पठनपाठन गरिरहेको सम्बन्धमा यस्ता कुनैपनि क्रियाकलापलाई पछि गएर विद्यालयको तहगत वा विषयगत औपचारिक पठनपाठन नमानिने कुराको अहिले नै सूचित गर्ने’ भनेको छ ।

समितिले कोरोना संक्रमणको हालको जोखिमपूर्ण अवस्थामा विद्यालय तथा विश्वविद्यालयको पठनपाठन सामान्य अवस्थामा जस्तो गर्न सकिने अवस्था नरहेको भन्दै मन्त्रालयले गरिरहेको अध्ययन र तयारी सम्बन्धमा समितिको अर्को बैठकमा जानकारी गराउन निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिईन् ।

त्रिभुवन विश्वविद्यालयसहित विद्यालय तहमा समेत अनलाईन कक्षा सञ्चालन हुन थालेपछि संसदीय समितिले यसलाई औपचारिक मान्यता नदिन सरकारलाई निर्देशन दिएको हो । समितिले यस्तो बेलामा कुनैपनि तहमा भर्ना र परीक्षा नलिने व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ ।

लकडाउन लम्बिदै गएपछि विद्यालय तथा विश्वविद्यालय तहको पढाईमा अन्योलता थपिएपछि समितिले आज शिक्षा मन्त्रालयका सचिवसहितलाई बोलाएर छलफल गरेको हो ।

समिति सभापति जयपुरी घर्तीले सम्पूर्ण अभिभावक र विद्यार्थीहरुका लागि अहिले स्वास्थ्य सबैभन्दा ठूलो विषय भएको भन्दै नआत्तिन शिक्षा मन्त्रालयलाई आग्रह समेत गरेकी छन् ।

त्रिभुवन विश्वविद्यालयले निर्देशिका नै बनाएर अनलाईन कक्षा सञ्चालन गर्न मतहतका निकायलाई निर्देशन दिएको छ भने विभिन्न विद्यालयहरुले अनलाईन कक्षा चलाउन थालेका छन् । समितिको निर्देशनपछि अनलाईनमार्फत सञ्चालन गरिएको पढाईले औपचारिक मान्यता नपाउने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !