३ जेष्ठ २०८१, बिहिबार

शान्ति प्रक्रिया चाँडै टुंगोमा पुग्ने छ: मन्त्री शर्मा

प्रकाशित मिति :  4 March, 2024 11:03 am


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुंगोमा पुग्ने बताएकी छन् ।

माओवादी केन्द्र दाङको घोराही नगर समितिले आयोजना गरेको कार्यक्रममा उनले शान्ति प्रक्रियालाई जसरी पनि टुंगोमा पुर्याउने बताएकी हुन्। अहिलेको मुख्य कार्यभार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने भएकाले प्रधानमन्त्री यसमै केन्द्रित भएर अघि बढेको पनि उनले स्पष्ट पारिन् ।

अर्को प्रसङ्गमा पार्टीले हालै गरेको विधान अधिवेशनबाट हरेक समिति निर्वाचित गर्ने निर्णय भएको जानकारी गराउदैँ उनले पार्टी पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन गर्ने अवस्थामा पुगेको स्पष्ट पारिन् । पार्टी नेतातिर होइन, जनतातिर फर्कनुपर्ने उल्लेख गर्दै उनले पुराना नेता कार्यकर्ताको सम्मान र नयाँलाई प्रोत्साहन गरेर लैजानुपर्ने बताइन् ।

उनले स्थानीय समितिहरू नै पार्टीका आधार भएकाले स्थानीय पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्ने बताइन् । वडा तहसम्म पार्टी कार्यालय स्थापना गरेर पार्टी व्यवस्थित गर्नुपर्ने उनले बताइन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज निर्मल आचार्यले स्थानीयस्तरका जनसरोकारका काम स्थानीय पार्टी कमिटीले गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि स्थानीय नेता कार्यकर्ताको क्षमता विकास गर्नुपर्ने बताइन् । उनले पार्टीले चाल्ने कदमको दृढतापूर्वक कार्यान्वयन गर्न पनि सबै कार्यकर्तालाई निर्देशन दिइन् ।



प्रतिक्रिया दिनुहोस !