१६ बैशाख २०८१, आइतबार

कोरोनाः ब्राजिलमा संक्रमण तिब्र, इरानमा फेरी दोहोरियो

प्रकाशित मिति :  7 May, 2020 7:53 am


एजेन्सी, २५ वैशाख ।

ब्राजिलमा कोरोनाका कारण २४ घण्टामा ६ सय १५ जनाको मृत्यु भएको छ भने १० हजार ५ सय ३ जना संक्रमित भेटिएका छन् ।

यो तथ्याङ्क ल्याटिन अमेरीकी देशमा कोरोनाका कारण मृत्यु र संक्रमित हुने सबैभन्दा धेरै संख्या हो । मृतकको संख्या एक्कासी बढेपछि ब्राजिलको स्वास्थ्य मन्त्रालयले बढी प्रभावित शहरहरुमा लकडाउन लगाउन सक्ने बताएको छ ।

अहिलेसम्म ब्राजिलमा १ लाख २५ हजार २ सय १८ संक्रमित ८ हजार ५ सय ३६ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै ब्राजिलका राष्ट्रपतिको आलोचना भईरहेका बेला यो तथ्याङ्क सार्वजनिक भएको छ ।
इरानमा हिजो मात्रै १६ सय ८० जना संक्रमित भेटिएपछि कोरोना संक्रमण दोहोरिएको भन्दै त्यहाँका सरकारी अधिकारीहरुले चिन्ता व्यक्ति गरेका छन् ।

११ अप्रिलपछि इरानमा एकाएक थप नयाँ संक्रमित बढेका छन् । इरानमा अब संक्रमित संख्या एक लाख पार गरेको छ । इरानमा पछिल्लो ४ दिन यता कोरोना संक्रमित व्यक्तिहरुको संख्या निरन्तर बढिरहेको छ ।

इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता किअनोउश जहाँपेरले भनेका छन्,‘ हामीले देखिरहेका छौं कि पछिल्लो तीन चार दिनेदेखि संक्रमणको संख्या बढीरहेको छ । हुनसक्छ कि यो अनावश्यक रुपमा भएको यात्राका कारण यो समस्या आएको हो । ’

इरानले ११ अप्रिलदेखि लकडाउन पूर्ण रुपमा खोलेको थियो । कम जोखिम भएका क्षेत्रका मस्जिद खोल्न अनुमति दिईएको थियो । तर पछिल्लो २४ घण्टामा मात्रै ७८ जनाको कारोनाका कारण मृत्यु भएको छ ।

अहिलेसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ६३ हजार ७ सय ८५ पुगेको छ भने संक्रमित संख्या ३७ लाख ५३ हजार ७ सय ८२ छ ।

सबैभन्दा धेरै मृत्यु अमेरीकामा ७३ हजार ४ सय १८ र त्यसपछि बेलायतमा ३० हजार ७६ पुगेको छ । छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ५२ हजार ९ सय ८७ भएको छ ।



प्रतिक्रिया दिनुहोस !