कानून निर्माण र संविधान कार्यान्वयनमा भुमिका खेल्ने राष्ट्रिय सभा सदस्यहरूको प्रतिवद्धता
काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले कानून निर्माण र संविधानको कार्यान्वयन गर्न आफूहरूको भुमिका हुने बताएका छन् ।
सोमवार राष्ट्रिय सभा सदस्यको रूपमा शपथग्रहण गरेसँगै नवनिर्वाचित सदस्यहरूले संविधानको पूर्ण रूपमा कार्यान्वयन गराउन आफूहरूको भुमिका हुने बताएका हुन् ।
उनीहरूले संघीयताको कार्यान्वयन, शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन र स्थानीय तह तथा प्रदेश सरकारको समस्या समाधानका लागि पनि आफूहरुको भुमिका हुने बताएका छन् । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले कानूनहरू नबनेका कारण संघीयता र संविधान कार्यान्वयनको सन्दर्भमा गुनासो आएको भन्दै आफ्नो ध्यान यसैमा बढि केन्द्रीत हुने बताए ।
उनले भने, “संविधानको पूर्ण रुपले कार्यान्वयन गर्नुपर्छ । त्यसमा आवश्यक कानून निर्माण गर्ने कुरामा राष्ट्रिय सभाले भुमिका खेल्नुपर्छ । मुख्य कुरा त प्रतिनिधि सभाबाटै आउने हो बिलहरू, सरकारले ल्याउने हो । त्यसलाई द्रुत गतिले अगाडी बढाउनुपर्छ भन्ने मलाई लागेको हो । संघीयता कार्यान्वयन गरेन, संविधानको उपलब्धि सकिन लाग्यो भनि जति गुनासो छ, संविधानसँग जोडिएका कानुनहरू नबनेका कारणले र नीतिहरु नबनेका कारणले हो भन्ने मलाई लाग्छ । त्यसमा मेरो बढी ध्यान जान्छ ।”
राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले राष्ट्र र जनताको पक्षमा विधि, विधान बनाउन भुमिका खेल्ने बताए । उनले राष्ट्रिय सभा सदस्यको रूपमा दुईवटै सदन र सरकारसँग समन्वय गरेर काम गर्ने बताए ।
उनले भने, “हाम्रो भुमिका विधि, विधान, जनताको पक्षमा, राष्ट्र र राष्ट्रियताको पक्षमा पार्टी नभनिकन यो गरिमामय सभाले सहि कुरालाई समर्थन गर्ने, गलत कुरामा छलफल गरी विचार, विमर्श गरी दुईवटै सदन र सरकारसँग समन्वय गरेर जाने कुरा हाम्रो जिम्मेवारी हो ।”
राष्ट्रिय सभा सदस्य मनरुपा शर्माले राष्ट्रिय सभाको मर्यादालाई उपलब्धिमुलक र गरिमामय बनाउन आफ्नो भुमिका हुने बताए ।
उनले भने, “राष्ट्रिय सभाको मर्यादालाई उपलब्धिमुलक, गरिमामय बनाउने छु । शान्ति प्रक्रियाका कामहरू धेरै छन् टुंग्याउन । त्यसको निम्ति पनि मैले भुमिका खेल्नेछु । जुन वर्ग र ठाउँबाट म उपस्थित भएँ । त्यसको निम्ति म सदा–सदा निष्पक्ष तरिकाबाट अगाडी बढ्नेछु । र ति आवाजहरू उठाउनेछु ।”
राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले प्रदेश र स्थानीय तहको समस्या समाधानका लागि आफ्नो भुमिका हुने बताए । उनले तिनै तहको सरकारलाई व्यवस्थापनका लागि नीति, निर्माणको तहबाट भुमिका खेल्नुपर्नेमा आफ्नो जोड हुने बताए ।








