१२ श्रावण २०८१, शनिबार

वामदेव गौतमले भने: वर्तमान गठबन्धनका सूत्रधार ओली हुन्, गठबन्धन टिकाउन व्यवहार सुधार्नुपर्छ

प्रकाशित मिति :  5 March, 2024 4:02 pm


काठमाडौँ । पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद रहेको बताएका छन् ।

सोमबार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित कम्युनिस्ट गठबन्धन बनेकोमा आफूलाई खुसी लागेको भन्दै उनले यो गठबन्धनलाई अन्तिमसम्म पनि टिकाउनुपर्ने बताए ।

मंगलबार उनले अहिलेको सत्ता गठबन्धन टिकाउनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो व्यवहार सुधार गर्नुपर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो अस्थिरता कम्युनिस्ट गठबन्धनपछि देखाउनु नहुने बताए ।

गौतमले ओलीको व्यवहारमा सुधार नभए प्रधानमन्त्री प्रचण्डले पुनः कांग्रेससँग गठबन्धन गर्दैनन् भन्न नसकिने पनि बताए । उनले अहिले अप्रत्याशित रुपमा सत्ता गठबन्धनको नयाँ समीकरण बनेको भन्दै कम्युनिस्टहरू कम्युनिस्ट नै भएर अघि बढ्नुपर्ने सुझाव दिए ।

गौतमले कांग्रेस पनि बिपीको सिद्धान्तबाट विचलित नभई आफ्नो सिद्धान्त मिल्नेहरुसँग अघि बढ्न आवश्यक रहेको बताए । उनले कम्युनिस्टहरू एक ठाउँमा मिलेर समाजवाद निर्माण गर्ने दिशामा नेपाललाई लैजान सकिने अभिष्ट देखिएको पनि बताए । उनले अहिलेको गठबन्धन बन्नुको प्रमुख कारण प्रधानमन्त्री प्रचण्ड नभई ओली नै रहेको दाबी गरे ।

उनले भने, “कांग्रेस कांग्रेस भएरै अघि बढ्नुपर्छ, बिपीको विचारधारा लिएरै काँग्रेस अघि बढ्नुपर्छ । कम्युनिस्ट कम्युनिस्ट भएरै अघि बढ्नुपर्छ । आफैँ जनताको बीचमा जानुपर्छ । जनतामा प्रतिबद्ध हुनुपर्छ, जनताका कामहरु गर्नेगरी आउनुपर्छ । कम्युनिस्ट मिलुन् र कम्युनिस्टको विचारधारबमोजिम अघि बढुन् । अहिलेको गठबन्धनको प्रमुख कारण प्रधानमन्त्री होइन, केपी शर्मा ओली नै हुन् । उहाँले २०८४ भन्दा पहिला आफूलाई कम्युनिष्टहरुलाई एकताबद्ध गर्दै एउटा शक्तिको रुपमा अघि सार्न चाहनुहुन्छ । त्यसको निम्ति अरुतिर भन्दा त मुख्य पार्टी नेकपा (माओवादी केन्द्र) नै हो एमाले पछि । यी दुई पार्टीलाई एकीकृत गरेर जाँदा नै ०८४ मा एउटा शक्ति आर्जन गर्न सकिन्छ भन्ने मान्यता कमरेड केपी ओलीको हो ।”

गौतमले केपी ओली र प्रचण्डले आफूलाई सहमत गराइ संयमित बनाउने र मित्रतापूर्ण सम्बन्ध कायम गरे अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको बताए । उनले ६५ लाखसम्म मानिसलाई स्वदेशमै रोजगार दिने लोकप्रिय कार्यक्रम ल्याउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !