१२ श्रावण २०८१, शनिबार

‘काँग्रेसका कारण गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्रीको भनाइलाई अस्वीकार गर्छाैँ’

प्रकाशित मिति :  5 March, 2024 7:12 pm


काठमाडौँ । नेपाली काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइमा कुनै सत्यता नरहेको बताएका छन् ।

मंगलवार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकलगत्तै सञ्चारकर्मीमाझ उनले सो प्रतिक्रिया दिएका हुन् ।

प्रवक्ता महतले काँग्रेस र काँग्रेसका मन्त्रीहरूले असहयोग गरेर गठबन्धन परिवर्तन गर्नुपरेको भन्ने प्रधानमन्त्री दाहालको भनाईलाई आफ्नो पार्टीले ठाडै अस्वीकार गर्ने बताए । आफूहरूलाई बहाना बनाएर प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेको उनको बुझाइ थियो ।

प्रवक्ता महतले आफूले प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार आगामी आर्थिक वर्षको बजेटका सिलिङ तोकेको पनि बताए ।

उनले भने, “यो सबै कुरा के हो भने अब गठबन्धन परिवर्तन गर्ने उहाँहरुको आफ्नो मक्सद होला । त्यसको चाहीँ कारण होला । तर हामी कारण होइन । नेपाली काँग्रेस र हामी कोही पनि मन्त्री कुनैपनि आधारमा कारण होइन । यो बहाना मात्रै हो । कपोलकल्पित हो । यसमा कुनै सत्यता छैन । ठाडै नेपाली काँग्रेस र हामीले अस्वीकार गर्छौं ।”

प्रवक्ता महतले सत्तारुढ गठबन्धन परिवर्तन गर्ने मक्सद अरू नै केही भएको पनि दोहो¥याए ।



प्रतिक्रिया दिनुहोस !