१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुको दशगजा क्षेत्रमा ३ सय भन्दा बढी नेपाली रोकिए,सिमानामै खानाको व्यवस्था

प्रकाशित मिति :  7 May, 2020 11:10 am


कपिलवस्तु , २५ वैशाख । 

भारतका विभिन्न क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नेपाली नागरिकलाई नेपाल–भारत दशगजा क्षेत्रमै खाना र बस्नका लागि व्यवस्था मिलाइएको छ ।

कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका नागरिकलाई नेपाल प्रवेश गर्न नदिएपछि उनीहरुलाई दशगजा क्षेत्रमै खाना र बस्नको व्यवस्था गरिएको हो ।

कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले सीमामा अलपत्र नागरिकका समस्या पहिचान गरी दशगजा क्षेत्रमा पुगेर नगर क्षेत्रभित्रका सीमामा रहेका नेपालीलाई खाना र पालको व्यवस्था गरिएको जानकारी दिए ।

त्यस्तै सीमामा पर्ने महाराजगञ्ज नगरपालिकाले पनि सीमामा रहेका नागरिकलाई खाना र बस्नको व्यवस्था गरेको नगरप्रमुख अब्दुल कलामले बताए ।

रोजगारीका सिलसिलामा भारतका विभिन्न ठाउँमा पुगेका नेपाली कोराना भाइरसको संक्रमणको जोखिम बढेपछि नेपाल प्रवेश गर्न थालेका  हुन् ।

भारतले नेपाल पठाउने र नेपालले प्रवेश गर्न नदिँदा उनीहरु सीमा क्षेत्रमै त्रिपाल टाँगेर बस्न बाध्य छन् ।

जिल्लाका कृष्णनगर, भिल्मीमा चाकरचौडामा हरदौनामा र मर्दादपुरमा गरी ३ सय ७ जना नेपाली नागरिक सीमा क्षेत्रमा रहेको कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले जानकारी दिए ।

पछिल्लो समयमा भारतीय प्रहरी तथा सीमा सुरक्षा बलले भारतबाट नेपाल आउने नेपालीका लागि खुकुलो गरेका कारण लुकिछिपी आउनेको संख्या बढेको छ ।

आफूहरुलाई भारतीय प्रहरीले नै नेपाल जान भनी पठाएको मायादेवी गाउँपालिकाका बुद्धिराम रैदासले बताए । दशगजा क्षेत्रसम्म आएका नागरिकका विषयमा भारतीय प्रहरीसँग छलफल भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !