२१ आश्विन २०८३, बुधबार

फ्रान्समा विद्यार्थी आन्दोलन चर्किँदै, २ लाख ५० हजार बढी मानिस सडकमा

प्रकाशित मिति :  7 October, 2026 10:57 am


काठमाडौँ । विद्यालय शिक्षामा बजेट वृद्धि, पर्याप्त स्रोतसाधनको व्यवस्था तथा शिक्षा क्षेत्रका संरचनागत समस्या समाधानको माग गर्दै फ्रान्समा सुरु भएको विद्यार्थी आन्दोलन देशव्यापी बनेको छ। मंगलबार भएको प्रदर्शनमा देशभर करिब २ लाख ६६ हजार मानिस सडकमा उत्रिएको फ्रान्सको गृह मन्त्रालयले जनाएको छ।

पेरिस क्षेत्रको एक उच्च माध्यमिक विद्यालयबाट सेप्टेम्बरको मध्यतिर सुरु भएको आन्दोलन दुई साताभन्दा बढी समयदेखि जारी छ। विद्यालयमा स्रोतसाधनको अभाव, कर्मचारीको कमी, शिक्षक तथा विद्यार्थीमाथि बढ्दो कार्यभार र जीर्ण भौतिक पूर्वाधार आन्दोलनका प्रमुख मुद्दा बनेका छन्।

मंगलबारसम्म आन्दोलन फ्रान्सका विभिन्न सहरमा फैलिएको छ। राजधानी पेरिसमा मात्रै करिब ५६ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। तर, आन्दोलनका आयोजकहरूले भने सरकारी तथ्यांकभन्दा प्रदर्शनकारीको संख्या अझ बढी रहेको दाबी गरेका छन्।

विद्यार्थीको आन्दोलनमा समर्थन जनाउँदै किसानहरूको युनियन, ऊर्जा क्षेत्रमा कार्यरत श्रमिक तथा शिक्षक युनियनहरूले पनि सडकमा उत्रने घोषणा गरेका छन्। यससँगै आन्दोलन विद्यार्थीको सीमित मागबाट विस्तार हुँदै व्यापक सामाजिक आन्दोलनको स्वरूप लिन थालेको देखिएको छ।

शान्तिपूर्ण रूपमा अघि बढेको मंगलबारको प्रदर्शन अन्त्यतिर पेरिसको एक चोकमा प्रदर्शनकारी र दंगा नियन्त्रण प्रहरीबीच झडप भएको थियो। प्रहरीले अश्रुग्याससहित दंगा नियन्त्रणका उपकरण प्रयोग गरेको थियो। केही प्रदर्शनकारीले प्रहरीतर्फ वस्तु प्रहार गर्नुका साथै सडकमा आगजनीसमेत गरेका थिए।

मंगलबारको प्रदर्शनका क्रममा करिब ५०० जनालाई नियन्त्रणमा लिइएको थियो। विद्यार्थी आन्दोलन सुरु भएयता प्रहरीले ६ हजार ५०० भन्दा बढीलाई पक्राउ गरिसकेको जनाएको छ। पक्राउ पर्नेमा अधिकांश नाबालिग रहेको बताइएको छ।

प्रहरीको धरपकड तथा अश्रुग्यासलगायत दंगा नियन्त्रणका साधन प्रयोगप्रति विद्यार्थी, अभिभावक र शिक्षकहरूले असन्तुष्टि जनाएका छन्। विद्यार्थी संगठनहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !