२१ आश्विन २०८३, बुधबार

बाढी–पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी यातायात

प्रकाशित मिति :  7 October, 2026 10:14 am


काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

रसुवामा बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि तत्काल यातायात सञ्चालनमा आउन नसकेको र थप सूचना नआएसम्म अवरोध कायम रहने जनाइएको छ।

त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्डमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ मा पहिरोका कारण कालीगण्डकी करिडोर प्रभावित भएको छ। सडकमा हाल एकतर्फी यातायात सञ्चालन भइरहेको भए पनि ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

यस्तै, मनाङमा बाढीका कारण बेँसीसहर–खाङसार सडकखण्ड प्रभावित भएको छ। उक्त सडकखण्डमा पनि हाल एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

प्रहरीका अनुसार अवरुद्ध तथा प्रभावित सडकखण्ड खुलाउने र यातायात सहज बनाउने प्रयास भइरहेको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस !