२४ बैशाख २०८१, सोमबार

समस्यामा रहेको अर्थतन्त्र सम्हाल्ने जिम्मा रोल्पाका पुनको काँधमा

प्रकाशित मिति :  6 March, 2024 10:28 pm


काठमाडौँ। अर्थमन्त्रीका रुपमा वर्षमन पुनलले कार्यभार सम्हालेका छन्। यससँगै चुनौतिपूर्ण मोडमा रहेको नेपालको अर्थतन्त्रको बागडोर पनि पुनकै काँधमा पुगेको छ ।

राेल्पा जिल्ला स्थायी घर भएका पुनले अर्थको जिम्मेवारी दोस्रो पटक सम्हालेका हुन् । माओवादी केन्द्रका सहमहासचिव पुन यसअघि अर्थसहित शान्ति तथा पुनर्निमार्ण मन्त्रालय र उर्जा, जलस्रोत एवं सिंचाई मन्त्रालयको नेतृत्व गरिसकेका छन्।

कर्मचारीको कुरा सुन्ने, सल्लाह लिने बानी भएका अर्थमन्त्री पुन अर्थमन्त्रालयका कर्मचारी माझ पनि ‘राम्रा मन्त्री’ को सूचीमा पर्छन् । पदभार ग्रहणका क्रममा अर्थसचिव कृष्णहरी पुष्करले मन्त्रीको निर्देशन पालना गर्न २४ घण्टा तयार रहेको बताएका छन् ।

मन्त्री पुनले पदभार सम्हाले लगतै जलवायु कोषहरूबाट प्राप्त हुने स्रोत (अनुदान तथा सहुलियतपूर्ण सहायता) लाई मिलाई गरी सरकारी तथा निजी क्षेत्रहरूलाई समेत परिचालन लगायतका निर्णय गरेका छन्।

बुधवार राती मन्त्रीको पदभारग्रहण गर्दै मन्त्री पुनले हरित जलवायु कोष (जिसिएफ) को ‘कन्ट्री प्रोग्राम’ अन्तर्गत पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने, हरित जलवायु कोषमार्फत सञ्चालन हुने आयोजनाहरूलाई दिगो र पूर्वाधारयुक्त बनाउन सम्बन्धित विषयगत मन्त्रालय र दातृ निकायहरूलाई मार्गनिर्देश गर्ने निर्णय गरेका हुन्।

जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलीयतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय पुनको छ ।

मुलुकको वर्तमान अर्थतन्त्र संकटमा नभएर मन्दीमा रहेको बताउँदै अर्थतन्त्रमा रहेका चुनौतीहरुलाई सबै भन्दा पहिला सबै अन्तरमन्त्रालय समन्वय गरेर समाधान गर्ने बताए।

कार्यभार सम्हाल्दै गर्दा उनले अर्थतन्त्रको चुनौतीलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुपरेकाले त्यही अनुसार काम गर्ने बताए । पुनले नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको बताए।

उनले सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्न अर्थमन्त्रीको रुपमा आएको बताए।

पुनले आर्थिक मन्दीको बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेको अनुभवका आधारमा काम गर्ने बताए। सार्वजनिक क्षेत्रमा केही समस्या रहेको भन्दै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए।

अहिले राजश्व संकलन १० प्रतिशतको वृद्धि भएको भन्दै अब अर्को महिनादेखि दोब्बर वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, “अर्थतन्त्रमा संकट नै होइन । मन्दीमा पगेर चलायमान कम भएको हो । अर्थतन्त्रमा चुनौतीहरु छन् । चुनौतीहरुलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुभएको छ । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको छ ।”

आफूले बोलेर भन्दा पनि काम गरेर देखाउन चाहेको भनाइ पुनको छ। उनले थपे, “अर्थ मन्त्रालयको टिमलाई लिएर अभ्यास गर्दा सकिन्छ । अरुलाई आलोचना गरेर भन्दा पनि आफूले राम्रो गरेर काम गर्ने हो । विगतका अर्थमन्त्रीहरुले गरेको असल प्रयासलाई निरन्तरता दिँदै अनुभवलाई लिएर काम अगाडी बढाउँछु ।”

सबैसँग समन्वय गरेर अर्थतन्त्रलाई चलायमान बनाउने काममा आज देखि नै लाग्ने प्रतिवद्धता पुनको छ।

निवर्तमान अर्थमन्त्रीबाट प्रधानमन्त्री असन्टुष्ट भएको चर्चा भइरहँदा बजेट निर्माणको प्रक्रियामा अर्थमन्त्रालय इन्ट्रि गरेका पुनले अर्थतन्त्रको भत्कँदो बाँधलाई सम्हाल्ने जिम्मेवारीलाई स्वीकार्द मन्त्रालयको बागडोर सम्हाल्नुलाई चासोको रुपमा हेरिएको छ।



प्रतिक्रिया दिनुहोस !