६ जेष्ठ २०८१, आइतबार

निर्माण कम्पनीसँग सांसद चौधरीको आग्रहः ठूला विकासे आयोजनाको काम समयमै सम्पन्न गर्नुहोस्

प्रकाशित मिति :  11 March, 2024 6:07 pm


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले ठुला विकास आयोजनालाई समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरुसँग आग्रह गरेका छन् ।

सोमवार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सरोकारवाला निकायसँग छलफल गर्दै सांसद चौधरीले विकास आयोजना निर्माण कार्यमा विलम्ब नगर्न आग्रह गरेका हुन् । उनले पश्चिम नवलपरासी जिल्लाभित्र सञ्चालित विकास आयोजनाको प्रगति एवं समस्या समाधानका विषयमा सम्बन्धित निकायहरूसँग छलफल गरे ।

सांसद चौधरीले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको कामलाई तीव्रता दिनु पर्नेमा जोड दिए । उनले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी राजमार्गको काम ढिलासुस्ती गर्न नगर्न निर्माण क्षेत्रलाई आग्रह गरे ।

उनले जनप्रतिनिधिको हैसियतले सबै भन्दा ठुलो जिम्मेवारी भनेकै विकासका आयोजनाहरु तत्काल समयमा नै सम्पन्न भएको बताए । उनले ठुला विकासका जनप्रतिनिधिहरुको परियोजना सम्पन्न गर्नका लागि दोहोरो भूमिका रहेको बताए ।

सांसद चौधरीले विकास आयोजना सम्पन्न गर्न सरकारबाट गर्नुपर्ने सहजीकरणमा आफूले निरन्तर समन्वय गर्दै आएको बताए । उनले स्थानीय तह, प्रदेश सरकारसँग निरन्तर समन्वयको काम भइरहेको बताए ।

उनले के कारणले आयोजनाको काम अपेक्षाकृत हुनसकेको छैन सो विषयमा गम्भीर बन्न जरुरी रहेको बताए । उनले जनप्रतिनिधिको तर्फबाट सहजीकरण गर्न आफू तयार रहेको भन्दै अब विभिन्न बहानामा काममा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताए ।

सांसद चौधरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ– बुटवल सडक खण्डको काममा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाए । उनले विगत सात वर्षदेखि काम थालिएको हुलाकी सडकको काम पनि वर्षौंदेखि धीमा गतिमा भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !