४ जेष्ठ २०८१, शुक्रबार

२५ औं फ्लोरा एक्स्पो: दुई दिनमा २३ हजारले गरे अवलोकन, ५० लाखको कारोबार

प्रकाशित मिति :  15 March, 2024 6:53 pm


काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा जारी २५ औं पुष्प मेलामा अवलोकनकर्ताको संख्या र कारोवारमा वृद्धि हुँदै गइरहेको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा हिजो (बिहिवार) देखि सुरू भएको मेलामा पहिलो दिन सात हजार ५०० जनाले अवलोकन गरेका थिए भने १७ लाख ५० हजार रुपियाँको कारोबार भएको थियो ।

मेलाको दोस्रो दिन (आज) १५ हजारबढीले अवलोकन गरेका छन् भने ३२ लाख ५० हजार रुपियाँ बराबरको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका मेला संयोजक सिताराम पन्त जानकारी दिए । योसँगै दुई दिन गरेर २३ हजारले अवलोकन गरेका छन् भने ५० लाखको कारोबार भएको छ ।

चार दिनसम्म चल्ने मेलामा ५० हजार जनाले अवलोकन गर्ने र एक करोड रुपियाँको कारोबार हुने लक्ष्य एशोसिएशनले लिएको छ ।

मेलामा अवलोकनकर्ताले सबभन्दा बढी बहुवर्षे फुल्ने फूलप्रति बढी आकर्षण भएको देखिएको र त्यही बढी मात्रामा खरिद गरिरहेको मेला संयोजक पन्तले बताए । त्यस्तै इन हाउस ग्रीन प्लान्टको पनि बिक्रि उच्च रहेको उनले बताए ।

आइतवारसम्म चल्ने मेलामा आफूहरूले अनुमान गर्ने भन्दा बढी अवलोकनकर्ता आउने र कारोबार पनि सोही मात्रामा हुने बताउँदै उनले भोली (शनिवार) अलोकनकर्ताको चाप बढ्ने एशोसिएशनले अनुमान गरकेो बताए ।

फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ५० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहेको आयोजकले जनाएको छ ।

मेलामा सर्वसाधारणलाई १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक पक्षले जनाएको छ । मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरू तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको पन्तले जानकारी गराए ।

मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल विरुवाहरूको विभिन्न विधाहरूमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने विरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !