१७ बैशाख २०८१, सोमबार

पूरानो पुस्ताको जिम्मेवारीलाई नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्छ : सुनिता डंगोल

प्रकाशित मिति :  16 March, 2024 10:48 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ पुस्ताले काँध थाप्ने आँट गर्नुपर्ने बताएकी छन् । शनिवार काठमाडौँमा नित्या रञ्जना युनिकोडको विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले पुरानो पुस्ताले पनि नयाँ पुस्तालाई सम्मान र प्रोत्साहन दिनुपर्ने बताइन् । डंगोलले आज राम्रो हुने बित्तिकै विगतलाई नबिर्सिन पनि आग्रह गरिन् । देशको राजनीति र विकासमा नयाँ पुस्ता आउन जरुरी रहेको समेत उनले बताइन् ।

राजनीतिमा आउने पुस्ताले पुरानाहरूलाई उत्तिकै सम्मान दिनुपर्ने उनको भनाई थियो । उनले रञ्जना लिपी जस्तै अन्य पुराना लिपीहरूको पनि संरक्षण गर्न आवश्यक रहेको बताइन् । पुराना लिपीहरु लोप हुँदै गएको भन्दै उपप्रमुख डंगोलले त्यसलाई ब्युँताउन हरेक स्थानीय सरकारको भूमिका रहने बताइन् ।

“आज राम्रो गर्ने बित्तिकै हिजोलाई बिर्सिनु हुँदैन । हिजोको सम्मान गर्नुपर्छ । सँगै हिजोलाई सम्मान गर्ने क्रममा हिजोले पनि आजलाई सम्मान र प्रोत्साहन दिनुपर्छ । रेकग्नाइज गर्नुपर्छ । यो महशुस गरेपछि हामीले सम्पदा र संस्कृतिको क्षेत्रमा मात्रै नभइ हरेक क्षेत्रमा काम गर्न सक्छौँ”,उनले भनिन्,”नयाँ पुस्ताको नयाँ तरिका हुन्छ । पुरानो पुस्ताले लिएको जिम्मेवारीलाई अब नयाँ काँधले बोक्ने आँट पनि चाहिन्छ ।”



प्रतिक्रिया दिनुहोस !