६ जेष्ठ २०८१, आइतबार

पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा

प्रकाशित मिति :  17 March, 2024 1:56 pm


काठमाडाैँ । कास्की जिल्लाको पोखरा शहरलाई पर्यटकीय राजधानीको रूपमा औपचारिक रूपमा घोषणा भएको छ ।

आइतवार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । उनले पोखरा प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै नेपालको पर्यटन राजधानी घोषणा गरे ।

पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुकै पर्यटनको लागि राजाधानीको रूपमा नेपाल सरकारबाट घोषणा भएको हो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शिर्ष पर्यटीय गन्तव्यको रूपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुकै पर्यटकीय राजधानीको रूपमा औपचारिक रूपमा घोषणा गरिएको बताए ।

आचार्यले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको बताए । उनले विश्वका विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको बताए । उनले विज्ञसहित अध्ययन समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको स्मरण गरे ।

उनले पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकी प्रदेश सरकार, स्थानीय तहको नीतिहरू पर्यटन क्षेत्रको विकासमा हुने बताए ।



प्रतिक्रिया दिनुहोस !