६ जेष्ठ २०८१, आइतबार

माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका नेताहरुलाई जिम्मेवारी मुक्त गर्दै नेसपा

प्रकाशित मिति :  18 March, 2024 8:25 am


काठमाडौँ। नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकताको पक्षमा उभिएका नेताहरुलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने भएको छ ।

आइतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने विषयमा छलफल भएको हो ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेसपाका प्रवक्ता कृष्ण शर्माले नेताहरुले पार्टीको विधि, पद्धति र संगठनात्मक पद्धतीलाई छलेर माओवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको भन्दै जिम्मेवारीबाट मुक्त गर्न लागिएको बताए।

उनले आज (सोमवार) बस्ने पार्टीको केन्द्रिय समितिको बैठकले आवश्यक निर्णय गर्ने बताए। । केन्द्रिय कार्यकारिणी समिति बैठकले भने ति नेताहरुलाई जिम्मेवारीमुक्त गर्ने एजेण्डा भोलि बस्ने केन्द्रिय समितिको बैठकमा लैजानेगरी पारित गरेको उनले जानकारी गराए।

अग्रगामी राजनीतिक शक्तिहरुसँग एकता र ध्रुविकरणको प्रक्रिया भने जारी रहने जनाइएको छ। बैठकले पार्टीको महाधिवेशन गर्ने र संगठनलाई सुदृढ गर्ने विषयमा पनि छलफल गरेको उनले बताए।

शर्माले भने, “हाम्रो पार्टीबाट केही साथीहरुले पार्टी एकताको लागि एउटा वक्तव्य जारी गर्नुभएको छ । त्यो हाम्रो पार्टीको निर्णय विपरित हो । उहाँहरुलाई जिम्मेवारीबाट मुक्त गर्ने भनेर बैठकमा प्रस्ताव लैजादैँ छौँ ।”

उनले आगामी महाधिवेशन गर्दा प्रत्यक्ष निर्वाचन प्रणालीबाट गरिने पनि जानकारी दिए । उनले पार्टी संगठनलाई सुदृढ गर्ने सन्दर्भमा केन्द्रीय समिति बैठकले कार्ययोजना तय गर्ने जानकारी दिए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !