४ जेष्ठ २०८१, शुक्रबार

दुग्ध किसानका समस्या समाधानका लागि ३० करोड रकम पठाइसकेको छुः अर्थमन्त्री पुन

प्रकाशित मिति :  18 March, 2024 11:00 am


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले दुग्ध किसानको समस्या समाधानका लागि ३० करोड रकम पठाइसकेको बताएका छन् । हिजाे (आइतबार) साँझ सिंहदरबारस्थित मन्त्रालयमा नेपाल आर्थिक पकार संघ (नाफिज) सँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्ब भन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा समेत पठाइसकेको दाबी गरेका छन् ।

उपभोक्ताको किन्नसक्ने क्षमता बढाएको खण्डमा अर्थतन्त्र चलायमान हुने विश्वासका साथ आफूले मन्त्रालय सम्हाले लगत्तै बजारमा रकम पठाउन थालेको बताए ।

उनले पछिल्लो सार्वजनिक खरिद नियमावलीको संशोधनपछि कम्तीमा पनि ४० अर्बको दायित्व थपिने समस्या हुँदाहुँदै पनि आफूले पुँजीगत खर्च भइसकेका र बिल भुक्तानी गर्नुपर्ने ठाउँमा भुक्तानी गरेरै छोड्ने प्रतिवद्धतासहित काम अघि बढाएको बताए ।

उनले पुँजीगत खर्च गर्ने ठूला मन्त्रालयलाई प्रक्रियागत रुपले फाइल पठाउन आग्रह गरिसकेको र भुक्तानी गर्नुपर्ने रकम दिन अर्थ मन्त्रालय तयार रहेको बताइसकेको बताए ।

अर्थमन्त्री पुनले अहिलेको सरकारका सबैभन्दा ठूलो चनौति युवाहरूमा आएको निराशाको अन्त्य गरी आशा जगाउनु रहेको बताउँदै सरकारले निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई सँगसँगै अघि बढाउने बताए । अहिलेको सरकार निजी क्षेत्रलाई अगाडि राखेर र अरुलाई सहयोगी बनाएर लैजाने प्रयत्न रहने बताए ।

नाफिजले भने सरकारले बजेट निर्माण यथार्थपरक बनाउनुपर्नेमा जोड दिएको छ । मन्त्रालय अन्तर्गतको भन्सार विभाग र आन्तरिक राजश्व विभागको नेतृत्वमा खुला प्रतिष्पर्धाबाट योग्य व्यक्तिको नियुक्ति हुनुपर्ने नाफिजको सुझाव छ । नाफिजले वार्षिक ११ खर्ब राजश्व संकलन गर्न राजश्वकै विज्ञ सदस्यलाई कम्तिमा चार वर्षका लागि जिम्मा दिनुपर्ने सुझाव दिएको छ ।



प्रतिक्रिया दिनुहोस !