१२ श्रावण २०८१, शनिबार

डिडिसीको काठमाडौँ गोदाममा अर्ब बढीको दुग्ध पदार्थ मौज्दात

प्रकाशित मिति :  19 March, 2024 10:40 pm


काठमाडौँ। दुध तथा दुग्ध पदार्थको विक्री घटेपछि दुग्ध विकास संस्थान (डिडिसी)को काठमाडौँ दुग्ध वितरण आयोजनामा मात्र १ अर्ब ३५ करोड ५ लाख ४६ हजार ८५० रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात रहेको छ।

आयोजनामा ६६ करोड १ लाख १७ हजार २५० रुपैयाँ बराबरको १ लाख १५ हजार ५६५ किलो धुलो दूध मौज्दात रहेको डिडिसीले जनाएको छ।

डिडिसीका अनुसार ६९ करोड ४ लाख २९ हजार ६ सय रुपैयाँ बराबर ७ लाख ६७ हजार १४४ किलो मख्खनको मौज्दात छ । आयोजनाले काठमाडौँ उपत्यका नजिक जिल्लाबाट दैनिक ६५ देखि ७० हजार लिटर दुध सङ्कलन गरिरहेको छ ।

दूध किसानको बक्यौता भुक्तानी प्रक्रिया अघि बढ्यो, यसै साताबाट सुरु हुने

भारी मात्रामा दुग्ध उत्पादन थन्किएपछि किसानको भुक्तानीमा ढिला भएपछि अड्किएको दुग्ध किसानको बक्यौता भुक्तानी हुने प्रक्रिया अगाडि बढेको छ । सरकारले दुग्ध विकास संस्थान (डिडिसी) लाई ३० करोड रकम उपलब्ध गराउने भएपछि किसानलाई राहत हुने भएको हो।

अर्थमन्त्री वर्षमन पुनले पदबहाली गरे लगत्तै दुग्ध किसानको भुक्तानीलाई सम्बोधन गरेका हुन् । अर्थले गरेको निर्णय अनुरुप औपचारिक प्रक्रिया पूरा गर्न केही समय लागेको तर यसैसातादेखि भुक्तानी सुरु हुने डिडिसीका महाप्रबन्धक सञ्जीव झाले बताए।

“सरकारबाट प्राप्त रकम डिडिसीको खातामा ल्याउनका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको छ,” झाले भने, “आजै पनि हामी यही काममा थियौँ, बाँकी रकम यसैसातादेखि भुक्तानी हुने गरी काम गरिरहका छौँ।”

किसानलाई भुक्तानीका लागि डिडीसीले अर्थ मन्त्रालयसँग रकम माग गरेको लामो समय वित्दा पनि कुनै निर्णय हुन नसक्दा किसानले आन्दोलन नै गर्नु परेको थियो । मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै अर्थमन्त्री वर्षमान पुनले किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएपछि डिडिसीले राहत महसुस गरेको उनले बताए।

निजी डेरीले पनि चैतको तेस्रो सातादेखि भुक्तानीको तयारी गरिरहेका छन्। सरकारसँग गरेको सम्झौता अनुरुप किसानलाई भुक्तानी उपलब्ध गराउन लागेको दुग्ध व्यवसायीहरुको भनाइ छ।

यसैगरी अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयबीच पशुपन्छी बिमावापतको ४८ करोड भुक्तानी दिने सहमति पनि भएको छ।



प्रतिक्रिया दिनुहोस !