१२ श्रावण २०८१, शनिबार

महरा पक्राउमा सापकोटा र गजुरेलसँग उपमहासचिव पुनको भनाभन,‘कोही पनि बाँकी नरहने’ चेतावनी

प्रकाशित मिति :  20 March, 2024 12:57 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ परे ।

सुन तस्करीमा संलग्न व्यक्तिसँग फोन सम्पर्क रहेको आरोपमा महरा पक्राउ परेका थिए ।

महरा पक्राउ लगत्तै सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रभित्र तरङ्ग हुनु स्वभाविक हो । महरा पक्राउपछि पदाधिकारी बैठक बस्यो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार बसेको बैठकमा उपाध्यक्ष महरालाई निलम्बन र कारबाही गर्ने विषय उठ्यो ।

फोन सम्पर्क भएको आरोपमा पक्राउ परेका महराको प्रतिरक्षा गर्न माओवादी केन्द्रले सक्ने स्थिति थिएन किन कि सरकारकै नेतृत्व गरिरहेका बेला उनी पक्राउ परेका थिए ।

बाहिरबाट चौतर्फी दबाब सिर्जना समेत भइरहेका बेला उपाध्यक्ष पक्राउ पर्दा माओवादी केन्द्र स्वयं रक्षात्मक छ र यसलाई सुशासनसँग जोड्ने प्रयास गरिहेको छ । मङ्गलबार बसेको पदाधिकारी बैठकमा महराको विषयलाई लिएर भनाभनको स्थिति उत्पन्न भयो ।

बैठकमा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले महरालाई तत्काल कारबाही गर्नुपर्ने धारणा राखेका थिए । सापकोटाको धारणामा उपमहासचिव हरिबोल गजुरेल समेत थपिएपछि अर्थ मन्त्री समेत रहेका उपमहासचिव वर्षमान पुनले प्रतिवाद गरेकाे स्राेतकाे दाबी छ ।

बैठकमा सहभागि एक पदाधिकारीका अनुसार सापकोटा र गजुरेलले महरालाई तत्काल कारबाही गर्नुपर्ने भनेपछि उपमहासचिव पुनले विरोध गरे ।

बैठकमा उनले भनेका थिए,“कसैसँग फोन सम्पर्ककै आधारमा यसरी समात्ने हो भने तपाईंहरू कसरी बच्नुहुन्छ ? यो गलत प्रवृत्ति देखिएको छ । यसले भोलीका दिनमा कोही पनि बच्दैन ।” बैठकमा उपमहासचिव पुनले उपाध्यक्ष महरालाई गलत दबाबमा परेर पक्राउ गरिएको भन्दै असन्तुष्टि जनाएकाे स्राेतकाे दाबी छ ।

पदाधिकारी बैठकमा भनाभनको स्थिति बनेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिरासतमा रहेका महरालाई फोन सम्पर्क गरेका थिए ।

अध्यक्ष प्रचण्डले दुई पटक फोन गरेर राजीनामाबारे जिज्ञासा राखेका थिए ।

जवाफमा महराले आफूले सल्लाह गरेर निर्णय दिने बताएका थिए । रोल्पाका नेता कुलप्रसाद केसी र जोखबहादुर महराले समेत महरालाई राजीनामा दिनुपर्ने सन्देश पठाएका थिए ।

महराले भने आफूले कुनै गल्ती नगरेको भन्दै राजीनामा नदिने अडान राखेका छन् । उपाध्यक्ष महराले ‘राष्ट्रियताको अडान राख्दा पटक पटक आफूमाथि आक्रमण भइरहेको र यसपटक पनि यसकै शिलशिला रहेको’ निकटस्थसँग बताउने गरेका छन् । कसैको दबाबमा आफूले पार्टी उपाध्यक्षबाट राजीनामा नदिने अडान राख्दै आएका छन् ।

सुन तस्करीमा संलग्न रहेको भनिएका चिनियाँ नागरिकसँग सामान्य चिनजान रहेको भनेर यसअघि नै बयान दिइसकेको प्रष्ट पार्दा पनि फेरि अपमानित ढंगले पक्राउ गरिएको भन्दै महरा रुष्ट छन् ।

आफन्तको निधन भएपछि रोल्पा जान लागेका महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको थियो तर भारत भाग्न लागेको भनेर प्रचार गरिएको भन्दै महरा असन्तुष्ट छन् ।

सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महराको तस्करसँग फोन सम्पर्क देखिएको उल्लेख गरेको थियो ।

गत साउन २ मा ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन र २०६९ पुसमा विद्युतीय चुरोट(भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्कारीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख महराको फोन सम्पर्क देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले छानविन गरेको थियो ।

फोन सम्पर्क बाहेक कुनै प्रमाण नदेखिएको भन्दै व्युरोले मुद्दा नचलाउने निर्णय गरेको थियो । आयोगले फेरी सोही कुरालाई आधार मानेर कारबाही सिफारिस गरेपछि महरा पक्राउ परेका हुन् ।

फोन सम्पर्क देखिएकै आधारमा उपाध्यक्ष महरा पक्राउ परेपछि माओवादी केन्द्रभित्र विवाद देखिएको हो ।



प्रतिक्रिया दिनुहोस !