१२ श्रावण २०८१, शनिबार

परराष्ट्रमन्त्री श्रेष्ठले गरे पूर्व राजदुतहरुसँग छलफल

प्रकाशित मिति :  21 March, 2024 8:08 am


काठमाडौँ। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वराजदुतहरुसँग छलफल गरेका छन्।

परराष्ट्रमन्त्री श्रेष्ठले बुधवार नेपालबाट विभिन्न देशमा राजदुतको जिम्मेवारी सम्हाली सेवानिवृत्त हुनुभएका पूर्वराजदुतहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्।

छलफलका क्रममा परराष्ट्र मन्त्रालयलाई सुदृढ पार्ने, मन्त्रालय र दुतावासबीचको समन्वय र छिमेकी देशहरुसँगको सम्बन्ध लगायत विभिन्न विषयमा कुराकानी भएको जनाइएको छ ।

मन्त्रीसँगको छलफलपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै बगंलादेशका लागि नेपालका पूर्वराजदुत मोहन लोहनीले पूर्वराजदुतहरुले विभिन्न प्रकारका सुझाव दिएको बताए।

उनले देशमा राजनीति अस्थिर भएकाले राजनीतिक स्थायित्व हुनुपर्ने कुरामा जोड दिइएको बताए। उनले नेपालको अहिलेसम्मको विदेश नीति सकारात्मक दिशामा रहेको र यसलाई अझ सुदृढ पार्नुपर्नेमा पूर्वराजदुतहरुले सुझाव राखेको जानकारी गराए।

उहाँले भन्नुभयो – ‘राजनीतिक स्थायित्वको कुरा पनि भएको थियो । अहिलेसम्मको हाम्रो विदेश नीति राम्रै दिशामा गएको छ । अझ सुदृढ पार्नका लागि के स्टेपहरु, के मेजरहरु लिन सकिन्छ, उहाँले पूर्वराजदुतहरुसँग पनि अपेक्षा गर्नुभएको छ । परराष्ट्र मन्त्रालयको महत्वलाई बुझाउने काम म गर्छु भन्नुभएको छ । परराष्ट्र मन्त्रालयको महत्वलाई उहाँले जोड दिनुभएको छ ।’

छलफलपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै इजिप्टका लागि नेपालका पूर्वराजदुत डा. रामभक्त ठाकुरले परराष्ट्रमन्त्रीले परराष्ट्र नीतिलाई सुधार गर्ने सम्बन्धमा सुझाव माग्नुभएको बताए। उनले उहाँले छिमेकी देशहरुसँगको सम्बन्धलाई प्राथमिकता दिँदै अमेरिकाको बढ्दो उपस्थितिलाई पनि व्यवस्थापन गर्नुपर्नेमा सुझाव दिएको बताए।

ठाकुरले भने, “परराष्ट्र नीतिको राम्रो नराम्रो , कमी कमजोरी कहाँ छ ? समयले के मागेको छ? कसरी सुधार गर्ने भनेर कुरा बुझ्न खोज्नुभयो । हामीले बतायौँ अहिले देशमा संकट आएको छ । कुन चिजमा प्राथमिकता दिने ? छिमेकी देशहरुलाई प्राथमिकता दिने भारत, नेपाल, चीनकाको तीन सम्बन्धलाई राम्रो गर्ने । यतातिर अमेरिकाको उपस्थिति बढिरहेको छ । त्यो उपस्थितिलाई कसरी मिलाउने ? यि सबै कुरालाई हामीले प्राथमिकता दिउँ । देश अस्थिर छ । परराष्ट्र नीतिले स्थिरता ल्याउन मद्दत गरोस् ।”

उनले आफ्नो देशको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्ने र छिमेकी देशको हितलाई पनि खलल नपु¥याउनेगरी अगाडी बढ्नुपर्ने सुझाव दिइएको बताए । —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !