१२ श्रावण २०८१, शनिबार

महिला न्यायाधीशहरूले सम्पादन गरेका मुद्दा विवादरहित छन्ः मन्त्री गिरी

प्रकाशित मिति :  22 March, 2024 11:32 am


काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरूले सम्पादन गरेका न्यायहरू बढी विवादरहित रहेको बताए ।

शुक्रवारबाट ललितपुरमा सुरू भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । न्याय सम्पादनमा आएका कमीहरू पुनः सच्याइएको उदाहरण रहेको भन्दै उनले न्याय सम्पादन सधैँ सही नहुने बताए ।

उनले महिला न्यायाधीशहरूले गरेका न्याय सम्पादन न्यायको मर्मको गहिराईसम्म पुगेर न्याय दिनसक्ने ल्याकत सहितको हुने गरेको विगतबाट देखिएको बताए । उनले कानूनको अध्ययन गर्ने महिलाहरुको संख्या पनि उल्लेख्य रहेको बताए । उनले अध्ययन समयदेखि नै महिलाहरुलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको बताए । उनले पछिल्लो समय कानून अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको भन्दै खुशी प्रकट गरे ।

मन्त्री गिरीले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशहरुलाई निश्चित रूपमा कार्यान्वयन गर्नका निम्ति र कानूनहरू निर्माण गर्नका निम्ति सरकारले प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले महिला न्यायाधीशहरूको वृद्धि विकास र क्षमता अभिवृद्धिका निम्ति गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस !