१२ श्रावण २०८१, शनिबार

काठमाडौँ उपत्यकाका सम्पदाको पुनर्निर्माण चालु आर्थिक वर्षभित्र सम्पन्न हुन्छन्: मन्त्री बुढा

प्रकाशित मिति :  22 March, 2024 6:19 pm


काठमाडौँ । सहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाका अधिकांश सम्पदाहरूको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताएका छन् ।

शुक्रबार ललितपुरको पाटनस्थित ज्येष्ठ वर्ण महाविहारको उद्घाटन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन् ।

मन्त्री बुढाले काठमाडौँ उपत्यकालगायतका २८ वटा सम्पदामध्ये ३ वटाको पुनर्निर्माण कार्य सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको समेत स्मरण गराए । उनले नेपालको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको सम्पदाको पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोगको पनि प्रशंसा गरे ।

मन्त्री बुढाले भने, “काठमाडौँ उपत्यकाका ३ वटै जिल्लालगायत सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, सोलुखुम्बुलगायतमा २८ वटा सम्पदामध्ये ३ वटा सम्पन्न भई सम्बन्धित निकायमा हस्तान्तरण गरिसकिएको छ भने अन्य बाँकी सम्पदाहरूको अधिकांश चालु आर्थिक वर्षमा सम्पन्न हुनेछन् । सम्पदा पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराएकोमा भारत सरकारप्रति सहरी विकास मन्त्रालय र स्वयं मेरो तर्फबाट समेत आभार व्यक्त गर्न चाहन्छु ।”

मन्त्री बुढाले समयमै बजेटको व्यवस्थापन हुन नसक्दा सम्पदा पुनर्निर्माणको कामले गति लिन नसकेको पनि स्पष्ट पारे । भारत सरकारको समेत अनुदान सहायतामा पुनर्निर्माण गरिएको सो बिहारको लागत भ्याट बाहेक १४ करोड ५९ लाख रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !