१५ बैशाख २०८१, शनिबार

स्वास्थ्य अवस्था नाजुक भएकाले महरालाई हाजिरी जमानीमा छाडिएको होः उपप्रधानमन्त्री लामिछाने

प्रकाशित मिति :  24 March, 2024 9:40 am


काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको बताएका छन्।

सुन तस्करीको कसुरमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका महरालाई हाजिरी जामानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले यस्तो स्पष्टिकरण दिएका हुन्।

बिरामी भएर ८÷१० वटा औषधि दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणाभाव देखाएर हाजिरी जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने जिकिरसमेत गरे।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लामिछानेले भनेको बेलामा उनलाई अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न पनि सबैलाई आग्रह गरे।

लामिछानेले भने, “राज्य निर्मम पछि हुन्छ, कठोर पनि हुन्छ । तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले अत्यन्त धेरै विरामी, अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छोडिएको कुरालाई अतिरञ्जित गरिरहनु पर्दैन । भनेको बेला, चाहेको बेलामा उपस्थित हुनेगरी हाजिरी जमानीमा उहाँ हुनुहुन्छ ।”

दोषी कोही पनि उम्कन नपाउने र निर्दोष कोही पनि नफस्ने भएकालले ढुक्क हुन उनले आग्रह गरे। लामिछानेले भने, “नआत्तिनु होला, धैर्य गर्नुहोला । मैले अघि भनेजस्तै माछा ठूलो होस्, चिप्लो होस, बाठो होस, जस्तोसुकै होस । उम्कदैन । माछा उम्केको एक मिनेटमा पदबाट राजीनामा दिएर आउँछु ।”

उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफ्नो राजीनामा माग गर्दै संसद अवरुद्ध पारेकोमा आपत्ति जनाउँदै काम गर्न नसकेको बेला मात्रै आफूले राजीनामा दिने बताए।

एउटा चिर्कटोमा हालेको उजुरीको आधारमा आफूले राजीनामा दिन नसक्ने उपप्रधानमन्त्री लामिछानेको भनाई थियो । उनले नेपाली काँग्रेसले नैतिकताको कुरा आफूमाथि देखाएपनि तत्काल स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्री पदमा नै बहाल रहेर अख्तियारमा दिएको बयान दिँदा पनि सरकारबाट फिर्ता नबोलाएको भन्दै आक्रोश गरे।

लामिछानेले भने, “मेरो विषयमा प्रश्न उठेका विषयमा हामीले यथेष्ट संवाद गरेका छौं । र मैले त्यसलाई सार्वजनिक पनि गरेको छु । तर मेरो जवाफ संसदमा सुन्ने धैर्य पनि प्रमुख प्रतिपक्षले राखेन । मैले जवाफ दिन पाएको भए त्यो कुरालाई अझ स्पष्ट पार्थ्याै । र, यति ठूलो इतिहास बोकेको दल ठाडो उजुरीमा किन सदननै अवरुद्ध पार्न पुग्यो ।”

उपप्रधानमन्त्री लामिछानेले नेपाली काँग्रेसले आफ्नो कुरा सुन्ने धैर्यता समेत नराखेको भन्दै आक्रोश व्यक्त गरे। —न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !