१२ श्रावण २०८१, शनिबार

इलाम क्षेत्र नम्बर २ मा नेम्वाङ र बझाङ प्रदेश १ मा भण्डारीलाई उम्मेदवार बनाउने एमालेकाे निर्णय

प्रकाशित मिति :  24 March, 2024 3:27 pm


काठमाडौँ । नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङ र बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज पार्टी मुख्यालय च्यासल,ललितपुरमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङ र भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरको हो ।

एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि खाली भएको क्षेत्रमा उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

कानून व्यवसायमा सक्रिय सुहाङ बुवाको निधनसँगै औपचारिक रुपमा राजनीतिमा प्रवेश पाएका छन् । दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरुको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उपमहासचिव ज्ञवालीले भने,“यो बैठकले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट पार्टीको तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । र, त्यस्तै गरी बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारी जो हाम्रो पार्टीको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । उहाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।”



प्रतिक्रिया दिनुहोस !