१५ बैशाख २०८१, शनिबार

सुखी नेपाली समृद्ध नेपालको सपना समाजवादबाट मात्रै पूरा हुन्छः नेता खनाल

प्रकाशित मिति :  24 March, 2024 6:40 pm


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताएका छन्।

आईतवार अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको वृहत होली मिलन कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै सम्मानित नेता खनालले समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिने बताएका हुन्।

खनालले देशको विकास गर्न र विकृति, बिसंगतिहरुलाई अन्त्य गर्न समाजवाद आवश्यक भएको चर्चा गर्दै समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध देशको रुपमा रुपान्तरण गर्न सकिने बताए। सुखि नेपाली समृद्ध नेपालको सपना समाजवाद अघि पूरा हुन नसक्ने भनाइ खनालको छ।

उनले भने, “समाजवादको भविष्यमा पुगेर मात्रै यो देश नेपाललाई समृद्ध देशको रुपमा हामी रुपान्तरण गर्नसक्छौँ । सुखी नेपाली समृद्ध नेपालको कुरा समाजवादमा मात्र पूरा हुनसक्छ । त्यो भन्दा अगाडी पूरा हुन सक्दैन । त्यसैले यो दिशामा जानुपर्छ । युवाहरुले नै देश बनाउनुपर्छ ।”

उनले विद्यार्थीहरुलाई राज्यको उपल्लो निकायसम्म पुग्न शुभकामना दिँदै भ्रष्टाचारी भने कहिल्यै नबन्न अनुरोध गरे।

उनले भने, “यो देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु बन्नुहोस् । तर भ्रष्टाचारी कहिल्यै नबन्नुहोस् । स्वच्छ हृदय, स्वच्छ चरित्रका नेताहरु नेता, अध्येधा, इन्जिनियर र डाक्टरहरु बन्नुहोस् ।”

नेता खनालले देशका युवाहरु साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिहरुका बिरुद्ध एकतावद्ध भएर अगाडी बढ्नुपर्ने सुझाए । उनले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पुँजीवादी शक्तिहरुका बिरुद्ध पनि आम जनतालाई एकतावद्ध बनाएर लैजानुपर्ने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !