१२ श्रावण २०८१, शनिबार

जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित हुन सरकारलाई एमालेको सुझाव

प्रकाशित मिति :  25 March, 2024 8:05 am


काठमाडौँ। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ ।

आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न सरकारलाई सुझाव दिएको हो ।

सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउँदै, समाजमा रहेको निराशालाई चिर्दै अवरुद्ध विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र सम्वद्र्धनमा केन्द्रित भएर लाग्ने संकल्प पनि पार्टीले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

एमालेले रुसको मस्को नजिकै कन्सर्टमा १३० जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको बिरोध पनि गरेको छ ।

उपमहासचिव ज्ञवालीले भने, “बैठकमा हामीले पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गरेका छौं । नयाँ राजनीतिक सहयात्रा प्रारम्भ भईसकेपछि मुलुकमा केही मात्रामा आशाका सञ्चार भएको छ । हाम्रो पार्टी यो सरकारलाई र सरकारको कार्य सम्पादनलाई प्रभावकारी बनाउँदै समाजमा रहेको निराशा चिर्दै अवरुद्ध भएको विकास, समृद्धि र सुशासनको प्रक्रियालाई नयाँ गति दिने र देशको राष्ट्रिय हितको रक्षा र संवद्र्धनमा केन्द्रित भएर लाग्ने पार्टीले ठोस संकल्प गरेको छ ।”

सरकारले पनि त्यही हिसावले आफ्ना कामहरुलाई अझ बढी चुस्त, अझ बढी समस्या केन्द्रित र जनतामा आशा र भरोसा जगाउने गरी अगाडि बढोस भनेर शुभकामना दिएको ज्ञवालीले बताए।

एमालेले होली पर्वको अवसर पारेर सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेको छ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !