१२ श्रावण २०८१, शनिबार

नेकपा माओवादी केन्द्र रोल्पाद्वारा आगामी आर्थिक वर्षका लागि संघीय सरकारसँग विभिन्न योजना पेश

प्रकाशित मिति :  25 March, 2024 12:44 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्र राेल्पाले आगामी आर्थिक वर्षका लागि संघीय सरकारसँग जिल्लाका लागि विभिन्न योजना पेश गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनलाई भेटेर नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले सबै गाउँपालिकाभित्रबाट माग भएर आएका योजना बुझाएको हो ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक पूर्ण केसीले रोल्पा जिल्लाको दशवटै स्थानीय तहबाट प्राप्त विभिन्न विकास निर्माण तथा योजनाहरू आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने गरी सम्बोधन गरिदिनका लागि अर्थमन्त्रीलाई निवेदन बुझाएको जानकारी दिए ।

माग गरिएका योजनामा लिबाङ – जलजला– थबाङ पर्यटकीय सडक,घोराही– होलेरी सहिदमार्ग सडक, घोराही – तिला–दार्बोट–घर्तिगाउ–थबाङ सहिद मार्ग सडक, मदन भण्डारी पूर्व–पश्चिम सडक,सुलिचौर–उवा–थबाङ सडक स्तरोन्नति ,लिबाङ–सल्लिबोट–कोछाप–उघा–धौलाबाङ–राम्छे–दुइखोली घोराही सडक, जलजला पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा छन् ।

यस्तै लामो समयदेखि बन्द हुँदै आएको लुङ्ग्री गाउपालिका वडा नं. ५ मा रहेको वडाचौर एअरपोर्ट सञ्चालन, विभिन्न गाउँपालिका भित्रका शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार खानेपानी, सिंचाई लगायतलाई प्राथमिकता दिएर योजना माग गरिएको संयोजक केसीले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले संघीय सरकारसँग माग गर्ने योजनाका लागि सबै गाउँपालिकाबाट सुझाव मागेको थियो ।

आएका सुझावलाई समेटेर अर्थ मन्त्री पुनलाई माग पत्र बुझाईएको संयोजक केसीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !