१५ बैशाख २०८१, शनिबार

कृषिमा आत्मनिर्भर हुनेगरी बजेट तय हुन्छः कृषिमन्त्री साह

प्रकाशित मिति :  25 March, 2024 12:42 pm


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन सांसदहरूलाई आग्रह गरेकी छन् ।

सोमवार सिंहदरबारमा सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो आग्रह गरेकी हुन् । मन्त्री साहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने खालको रणनीतिक योजना सरकारले तय गर्न लागेकाले पनि त्यस सम्बन्धमा सांसदहरूले दिएको सुझाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन् ।

उनले भूबनावट अनुसारको योजना तय गरी आयात हुने कृषि उपजहरूलाई प्रतिस्थापन गरी निर्यात व्यापारलाई बढावा दिने काममा सांसदहरूले दिएको सुझाव फलदायी हुने पनि बताइन् । मन्त्री साहले छुर्पी, खुवा, अलैँची, कफीहरुको उत्पादन बढाएर निर्यात गर्नका लागि पनि सरकारलाई सुझाव पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरिन् ।

उनले भनिन्, “हाम्रो देशमा ७ वटा प्रदेश छन । सबै प्रदेशहरू भौगोलिक हिसावले पनि फरक फरक छन । हिमालमा यार्सागुम्बा हुन्छ भने, पहाडमा मकै हुन्छ, भटमास हुन्छ । हरेक हुन्छ । त्यसपछि मधेशमा धान, मकै, गहुँ, माछालगायतका चिजहरू जुन हामीले मधेस, पहाड र हिमालको हिसावले भौगोलिक हिसावले पनि बाँड्नुपर्छ । आउने दिनमा हामी कृषिमा कस्तो खालको योजनाहरू बनाएर जाँदाखेरी कृषिमा आत्मनिर्भर हुन्छ ।”

मन्त्री साहले सिंचाईका असुविधाहरु भएको ठाउँमा देखिएको समस्या हल गर्ने कुरामा पनि सांसदहरूले दिएको सुझाव सरकारका लागि धेरै उपयोग हुने स्पष्ट पारिन् ।



प्रतिक्रिया दिनुहोस !