१२ श्रावण २०८१, शनिबार

सबैको साझेदारी भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सार्थक हुन्छः उपप्रधानमन्त्री यादव

प्रकाशित मिति :  25 March, 2024 5:50 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबैको साझेदारीमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउने बताएका छन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनले सामाजिक न्याय र समानताको अभावमा संघीयता र गणतन्त्र कुनै निश्चित वर्गको खेलौनाको रूपमा मात्रै रहने जिकिर समेत गरे । सोमवार काठमाडौंमा आयोजित साधना राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उपप्रधानमन्त्री यादवले पहिचानसहितको समानता, सामाजिक न्याय र सबैको भागेदारी र साझेदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र महत्व बढाउने स्पष्ट पारे ।

उनले मुलुकलाई एकतावद्ध बनाएर अघि बढाउन पनि समानता र सामाजिक न्याय हुनुपर्ने भएकाले सो सम्बन्धि बहसलाई अघि बढाउन पनि जरुरी रहेको बताए ।

उपप्रधानमन्त्री यादवले राष्ट्रप्रतिको जिम्मेवारी बोध गरेर कलम चलाउन पनि सञ्चारकर्मीहरूलाई आग्रह गरे । सामाजिक सञ्जालले अराजकता निम्त्याएको उल्लेख गर्दै उनले सामाजिक दायित्व र राष्ट्रिय जिम्मेवारीलाई आत्मसात गरेर सञ्चाकर्मीहरूले अघि बढ्नुपर्ने तर्क समेत गरे ।



प्रतिक्रिया दिनुहोस !