१६ चैत्र २०८०, शुक्रबार

सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमायो : नेपाली कांग्रेस

प्रकाशित मिति :  8 May, 2020 5:02 pm


काठमाण्डौं, २६ वैशाख ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको टिप्पणी गरेको छ ।

आजदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस्तो विषम परिस्थितिमा कोभिड—१९ को नियन्त्रण र निर्मूल गर्न विवेकसम्मत तवरले जिम्मेवार भई कार्य गर्नु पर्नेमा सरकार यसमा पूर्णरुपले असफल भएको बताए ।

उनले भने,‘सरकारले नागरिकलाई देशमा सरकारको अस्तित्व रहेको अनुभूति गराउन सकेको छैन । महामारी विरुद्ध लड्न पूर्व तयारी, लक डाउनका बेलामा राहत, क्वारेनटाईन, अस्पताल आदीको उचित व्यवस्थापन, स्वास्थ तथा सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा काम गरिरहेका व्यक्तिहरुको व्यक्तिगत सुरक्षा सामग्री, परिक्षण सामग्रीको आपुर्तिका कामहरु उचित तवरले भएका छैनन् ।’

देउवाले नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको ३ महिना बितिसक्दा पनि हालसम्म व्यापक परिक्षण भई सक्नु पर्नेमा अत्यन्त न्यून संख्यामा मात्र परिक्षण भएको बताए ।

उनले भने,‘परिक्षण सामग्रीको विश्वसनियतामा प्रश्न उठेका छन् । विदेशमा अफ्ट्यारोमा परेका नेपाली नागरिकको उद्दारको कुनै योजना छैन । कोरोनावाट बिभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक प्रभावको अध्ययन गरी तत्कालिन र दिर्घकालिन रणनीति बनाउने दिशामा कुनै सुरसार      छैन ।’

सभापति देउवाले यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचारका घटना हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त रहनु, सासदको अपहरण हुनु जस्ता अवाञ्छीत र आपराधिक गतिविधि कुनैपनि रुपले स्विकार्य हुन नसक्ने स्पष्ट पारे ।

यी विषयहरुलाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिनुका साथै अत्यन्त सुक्ष्म ढंगले विश्लेषण गर्दै सभापति देउवाले यो सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको ठहर गरेको निष्कर्ष सुनाए ।

सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरित दुइवटा विवादास्पद अध्यादेश जारी गरेर सरकारले अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गरेको सभापति देउवको भनाई छ ।

सभापति देउवाले विपक्षी लगायत राजनीतिक दल, संचार माध्यम र समस्त नागरिक सहित सबैले कोरोना विरुद्धको लडाईमा एक भएर साथ दिई रहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत रहेको दाबी गरे ।

देउवाले भने,‘एक सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रुपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्यपूर्ण कार्य   हो । म यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न माग गर्दछु ।’

सभापति देउवाले बिदेशमा रहेका नेपाली पनि यतिबेला कोरोनाबाट प्रताडित रहेको बताए । उनले अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्नु सरकारको कर्तव्य भएको भन्दै योजना निर्माण गरेर सम्मानित संसदमा यथासिघ्र पेश गर्न र उद्दार थाल्न म सरकार समक्ष माग गरे । सभापति देउवाले आगामी बजेटको मुख्य प्राथमिकता कोरोना केन्द्रीत गर्न सुझाव दिए ।

उनले भने,‘ आवश्यक सचेतना, अत्यावश्यक स्वास्थ सामग्री, अनिवार्य उपचार, विविध क्षेत्रमा पर्याप्त राहत एवं बिदेशमा अप्ठ्यारोमा रहेकाको उद्दार र पुनर्ब्यवस्थापनमा अबको बजेट केन्द्रित हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस !