१६ बैशाख २०८१, आइतबार

लोडसेडिङ हुने हल्ला सही होइनः ऊर्जामन्त्री बस्नेत

प्रकाशित मिति :  27 March, 2024 5:30 pm


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैठकमा बोल्दै ऊर्जा मन्त्री बस्नेतले मिडियामा समाचारहरू आएअनुसारको समस्या नभएको दाबी गरेका हुन् ।

उनले केही दिनदेखि भारतबाट विद्युत खरिद सम्झौता नविकरण नहुने र अब केही दिनमा लोडसेडिङ हुन्छ भन्ने हल्ला निराधार भएको बताए । उनले विद्युत खरिद सम्झौतामा हरेक वर्ष प्रतिष्पर्धी बजारबाट बिजुली ल्याउन नवीकरण गर्नुपर्ने भएकाले सरकार त्यो प्रक्रियामा रहेको उल्लेख गरे ।

उनले बाहिर आए जस्तो भारतले विद्युत आयात गर्ने अनुमति नविकरण नगर्ने भन्ने अवस्था नभएको बताए । उनले भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरणको प्रक्रियाको काम भइरहेको हुँदा आयात अनुमति नवीकरण हुने भन्दै लोडसेडिङ नहुने जिकिर गरे ।

उनले भारतीय प्रतिष्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) बाट बिजुली आयातको अनुमति नवीकरण नहुने भन्ने हल्ला वास्तविकता नभएको बताए । उनले भारतबाट बिजुली आयात अनुमति नहुने भनेर आवश्यकता भन्दा बढी चर्चा गर्न उपयुक्त नभएको बताए ।

“लोडसेडिङ हुँदैछ रे । भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण हुँदैछन् भन्ने बाहिर समाचारहरू आईरहेको छ । त्यो सही होइन । नियमित प्रक्रियामा प्रत्येक वर्ष सरकारले नविकरण गर्ने प्रक्रियामा हुन्छ । हामी त्यो प्रक्रियामा छौं । त्यो भारत सरकारसँग नविकरण हुन्छ । प्रक्रियागत रूपमा काम चलिरहेको छ । अहिले बाहिर मिडियामा जस्तो चर्चा र हैवा फैलाएको परिस्थिति छ । त्यो अवस्था होइन । भारतबाट बिजुली आयात गर्ने अनुमति नवीकरण हुँदैन भन्ने आवश्यकता भन्दा बढी चर्चा उपयुक्त हुँदैन,” उनले भने ।

भारतबाट बिजुली खरिदको लागि हरेक वर्ष नविकरण गर्नुपर्ने हुन्छ । उक्त नवीकरण भारतको इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) ले नवीकरण नगर्ने मनस्थिति बनाएको हल्ला बजारमा चलेको छ ।

नेपाल विद्युत प्राधिकरणले आन्तरिक माग पूरा गर्न करिव ६०० मेगावाटभन्दा बढी आयात गर्दै आएको छ । तर पनि नेपालका औद्योगिक क्षेत्रहरुमा विद्युत कटौती गर्दै प्राधिकरणले लोडसेडिङ गरिरहेको व्यवसायीहरुले बताइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !