१५ बैशाख २०८१, शनिबार

चार्जिङ स्टेशनमा लगानी बढाउन घिसिङको आह्वान

प्रकाशित मिति :  28 March, 2024 3:46 pm


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन् । बिहीबार काठमाडौँमा याडिया जि—६ विद्युतीय स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन् ।

कार्यकारी निर्देशक घिसिङले सरकारले सबैभन्दा पहिला प्रोत्साहनका लागि देशभरका विभिन्न स्थानमा गरी ५१ वटा चार्जिङ स्टेशन राखेको भएपनि अहिलेसम्म आइसक्दा विद्युत् प्राधिकरण र निजी क्षेत्र मिलेर देशभरका विभिन्न स्थानहरूमा करिब ४ सय वटा फास्ट चार्जिङ स्टेशन राखिएको बताए ।

उनले एकै ठाउँमा चार्जिङ स्टेशनहरु बढी भएकाले यस सम्बन्धी नीति बनाइदिन लगानी कर्ताहरूले आग्रह गरिरहेको बताए । धुलिखेलदेखि सिन्धुली बर्दीवाससम्म धेरै सङ्ख्यामा चार्जिङ स्टेशन बनेको उनले बताए ।

उनले चार्जिङ स्टेशनमा गरिएको लगानी पेट्रोल पम्पमा गरिने लगानी भन्दा ठुलो हुने बताए । उनले प्राधिकरणले चार्जिङ स्टेशनबाट नाफा कमाउन नभइ प्रोत्साहनका लागि लगानी गरिरहेको बताए । उनले प्राधिकरणको प्रतियुनिट मूल्य ९ रुपैयाँ पर्ने भएपनि राति चार्ज गर्दा ५ रुपैयाँ ७५ पैसामै दिने गरेको बताए ।

घिसिङले अबको पुस्ताले इलेक्ट्रिसिटीमा सबै काम गर्नेगरी विकास गर्न आवश्यक रहेको बताए । ‘इलेक्ट्रिफाइ योर लाइफ’ सबैको नारा बन्नुपर्ने उनले बताए ।

याडिया जि—६ मा ३ किलोवाटको मोटर र २।७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ । यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ । यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिन्छ । फुल चार्ज हुँदा १५० किलोमिटर गुड्ने बताइएको छ । फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध सो इलेक्ट्रिक स्कुटरको ग्राउण्ड क्लियरेन्स १७० एमएम छ ।

फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता छन् । कम्पनीले ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी दिएको छ । याडिया जि—६ को मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !