गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठन गर्नुपर्ने काँग्रेसको अडान कायमै

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ ।
शनिवार सभामुख देवराज घिमिरेले बाेलाएकाे प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकमा काँग्रेसकी सचेतक सुशीला थिङले सो अडानमा आफूहरू कायमै रहेको बताएकी हुन्। नेपाली काँग्रेसले उपप्रधानमन्त्री लामिछानेमाथि सहकारी ठगीबारे संसदीय छानविन समितिको माग गर्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
बैठकमा सभामुख घिमिरेले सदंनको अवरोध हटाउनका लागि आग्रह गरेका थिए । त्यस विषयमा भोली (आईतवार) बस्ने पार्टी पदधिकारी बैठकले आवश्यक निर्णय लिने पनि सचेत थिङले बताइन् । सचेतक थिङका अनुसार दलहरूबिच राजनीतिक दलसम्बन्धि विधेयक चैत्र २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेश गरिनेछ ।
नेपाली काँग्रेसले सहकारीको विवादमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कुनै पनि विधेयक संसदमा प्रस्तुत गर्न नपाउने जिकिर गर्दै संसद अवरुद्ध पारेको थियाे ।