२ श्रावण २०८१, बुधबार

केही महिनाभित्रै काँग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छः शेखर कोईराला

प्रकाशित मिति :  30 March, 2024 2:37 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा. शेखर कोईरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् ।

अहिले नयाँ सत्तासमिकरण केन्दमा बनेको र प्रदेशमा पनि बन्दै जाने उल्लेख गर्दै उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने बताएका हुन् । नेपाली काँग्रेसले विपक्ष भएको नाताले सत्तामा जानका लागि कोशिस गरिराख्ने र त्यो केही महिना भित्रै सफल हुने नेता कोईरालाको भनाई थियो ।

शनिवार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बोल्दै नेता कोईरालाले गठबन्धन बन्ने र भत्किने कुराले देश नबन्ने भन्दै यसलाई रोक्नका लागि निर्वाचन प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव समेत राखेका थिए ।

राष्ट्रिय सभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरेमात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास, निर्माणको कामले गति लिनसक्ने नेता कोइरालाले बताए । उनले आगामी निर्वाचनमा नेपाली काँग्रेसले गठबन्धन गरेर नजाने अडान समेत राखेका थिए । नेता कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक सरकार र सत्तारुढ दलले संसदबाट पास गरेपनि त्यसलाई लागू हुन नदिने जिकिर पनि गरे ।

नेता कोईरालाले पीडितमैत्री भएमात्रै संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पारित गर्न नेपाली काँग्रेसले साथ दिने स्पष्ट पारे । मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको निर्देशन र पीडितमैत्री भएमात्रै सो विधेयक संसदबाट पास गराउन आफ्नो पार्टीले सरकारलाई साथ दिने उनको धारणा थियो ।



प्रतिक्रिया दिनुहोस !