१२ श्रावण २०८१, शनिबार

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्छ: अध्यक्ष अग्रवाल

प्रकाशित मिति :  30 March, 2024 4:08 pm


काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्ने बताएका छन् ।

शनिबार चितवनमा सुरू भएको नेपाल उद्योग परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले हाल नेपालको अर्थतन्त्र निकै चुनौतिपूर्ण अवस्थामा रहेको जिकिर गरे । अग्रवालले समग्र बजारमा मागको कमीका कारण उद्योगी, व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा रहेको बताए ।

उनले कतिपय उद्योग व्यवसायहरु बन्द भइसकेका र कतिपय बन्द हुने अवस्थामा रहेको भन्दै ठूला उद्योगहरुमा समेत यसको असर परिरहेको जिकिर गरे । अग्रवालले विकास निर्माणका गतिविधिहरू बढाइनुपर्ने आवश्यकता रहेको बताए । उनले पुँजीगत खर्च बढाई अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न पनि आवश्यक रहेको बताए ।

आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनका लागि कानून सुधारका विषय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाई थियो । उनले लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानी कर्तालाई नयाँ सन्देश दिने महत्वपूर्ण हुने विश्वासका साथ परिसंघले दिएका कानून सुधारका विषयलाई सरकारले उच्च प्राथमिकता राख्नुपर्ने बताए ।

अध्यक्ष अग्रवालले सरकार राजश्वमुखी हुँदा वर्षेनी अर्बौं रुपैयाँको खाद्यान्न आयात गरिरहेको बताए । उनले सरकारले कृषिलाई उच्च प्राथमिकता राखेको भनेपनि व्यवहारमा लागू गर्न नसकेको बताए । कृषिमा परनिर्भरता हटाउँदै लैजान आन्तरिक उत्पादन र त्यसको खपतमा ध्यान दिन आवश्यक रहेको बताए । अग्रवालले आगामी बजेटले आन्तरिक उत्पादन र प्रयोग प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !