१२ श्रावण २०८१, शनिबार

संविधान र कानुन कार्यान्वयनका लागि सञ्चारमाध्यमको जागरण अभियान आवश्यकः मन्त्री शर्मा

प्रकाशित मिति :  2 April, 2024 11:45 am


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनी व्यवस्थाको कार्यान्वयनका लागि सञ्चारमाध्यमबाट सचेतना र जागरणका अभियानहरु सञ्चालन गर्न आवश्यक रहेको बताएकी छन् ।

रेडियो नेपालको ७४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनलाई जनताको जीवन परिवर्तनसँग जोड्न यस्ता अभियान आवश्यक रहेको बताएकी हुन् ।

“तमाम जनक्रान्तिको फलस्वरुप नेपालमा ठूलो राजनीतिक परिवर्तन आएको छ । लोकतन्त्र, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी, समानुपातिक प्रतिनिधित्व आजका हाम्रा ऐतिहासिक उपलब्धि हुन्”, उनले भनिन्, “यी उपलब्धिको रक्षा र विकास गर्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको आवश्यकता हो । संविधानको मर्मअनुरुप हामीले धेरै जनपक्षीय र प्रगतिशील कानुन बनाएका छौं तर यसको कार्यान्वयनले तिब्रता लिन सकिरहेको छैन ।”

हरेक क्षेत्रमा अर्थपूर्ण समावेशी सहभागिता, पैत्रिक सम्पत्तिमा छोराछोरीको समान अधिकार, सम्पत्तिमा दम्पत्तिको समान अधिकार, जातीयलगायत विभिन्न खाले सामाजिक छुवाछुतको समूल अन्त्यसहित विभिन्न खाले कुप्रथाबाट नेपाली समाजलाई मुक्त गर्ने सवालमा कानुनमा स्पष्ट व्यवस्था गरेको भए पनि कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताइन्।

मन्त्री शर्माले भनिन् “नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि यी महत्वपूर्ण संवैधानिक र कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि घरघरमा सचेतनाको आवश्यकता छ । त्यसका लागि रेडियो नेपालसहित आम सञ्चारका माध्यमहरुको प्रभावकारी अभियान आवश्यक छ ।”

मन्त्री शर्माले विगतका गौरवमय संघर्षहरूको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कुरामा वर्तमान सरकार प्रतिबद्ध एवं कृयाशील रहेको स्पष्ट पारिन् ।

सरकारले सार्वजनिक प्रसारण क्षेत्रको पुनःर्संरचना गर्न खोजिरहेको बताउँदै उनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधिसभामा छलफल भइरहेको जानकारी दिइन् ।

२००७ सालको क्रान्तिको जगबाट स्थापित नेपाली रेडियो प्रसारण सेवाको जननी रेडियो नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा हरेक कालखण्डको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनको साक्षी बन्दै आएको उल्लेख गर्दै मन्त्री शर्माले राष्ट्र र नागरिकका हरेक सवाललाई प्रवाह गरेर रेडियो नेपालले समाजको अग्रगामी रुपान्तरणमा ऐतिहासिक भूमिका निर्वाह गरकोेमा खुशी व्यक्त गरिन् ।



प्रतिक्रिया दिनुहोस !