१२ श्रावण २०८१, शनिबार

श्रममन्त्रीसहित रास्वपाका अन्य नेताहरुपनि सहकारी ठगी प्रकरणमा जोडिएको कांग्रेसको आरोप

प्रकाशित मिति :  2 April, 2024 12:00 pm


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका अन्य नेताहरू पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको विषय संसदमा उठाएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले रास्वपा उपसभापति तथा श्रममन्त्री डिपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी पनि सहकारी ठगी प्रकरणमा जोडिएको विषय उठाएका हुन् ।

सांसद रामकृष्ण यादवले प्रधानमन्त्री र प्रहरी प्रमुखले नै छानबिन आवश्यक नभएको बताएपछि अनुसन्धान प्रभावित हुने आशंका बढेको बताए।

उनले भने, ”सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर उपप्रधान तथा गृहमन्त्रीमाथि छानबिन गर्दा तपाईँकै हितमा हुन्छ। संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने आधार छन्। यस विषयमा छानबिन भएर सत्यतथ्य बाहिर आओस्, तपाईँको संलग्नताको पर्याप्त आधार छन् छानबिन हुनुपर्छ त्यसको लागि समिति आवश्यक छ। अर्को सहकारी ठगीको विषयमा पनि आएका छ। जसमा रास्वपा उपसभापति तथा श्रममन्त्री डीपी अर्याल हाम्रो नयाँ कृषि सहकारी संस्थाको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी रकम फिर्ता नपाएको विषय छ। अर्याल मात्रै होइन रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत सहकारीको सञ्चालक थिए। सो सहकारीमा पनि गोर्खा मिडियाका अध्यक्ष जिवी राईलाई भित्र्याइएको छ। त्यो भित्र्याउने काम श्रममन्त्री लगायतको हो भन्ने आरोप छ।”

उनले अहिले समस्याग्रस्त सहकारीको छानबिनलाई पनि प्रभावित पार्न खोजिएको आरोप लगाउँर्दै यो घटनाले पनि थप पुष्टि गरेको जिकिर गरे।

सहकारीको ठगी सञ्जाल कसरी फैलिरहेको छ भन्ने कुराको निष्पक्ष छानबिन आवश्यक रहेकोले संसदीय छानबिन समिति आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !