२० बैशाख २०८१, बिहिबार

काठमाडौँमा चैत २५ गतेदेखि गरिव घरपरिवार गणना हुने, गणकका लागि तालिम सुरू

प्रकाशित मिति :  2 April, 2024 2:23 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र चैत २५ देखि गरिब घरपरिवार गणना सुरू हुने भएको छ । गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षण गर्ने सुपरिवेक्षकका लागि आजदेखि थापाथली इञ्जिनियरिङ्क क्याम्पसमा चार दिनको तालिम सुरू भएको छ ।

तालिम सुरू गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, गणकहरूले भरेको विवरण स्रोतमा पुष्टि हुनु पर्ने बताए ।

“अवस्था अनुमान गरेर विवरण भर्ने सुविधा कसैलाई छैन । यसबाट प्राप्त हुने तथ्याङ्कहरू नीति, योजना तथा कार्यक्रम निर्माण गर्ने आधार हुन् । फिल्डमा जानुअघि तथ्याङ्कको संवेदनशीलता हरेक गणक, सुपरिवेक्षक र यसमा खटिने अधिकारीहरूलाई बोध हुन जरुरी छ,” उनले भने, “फिल्डमा जाने हरेक व्यक्तिसँग नागरिकले आफ्ना कोणबाट कुरा राख्न सक्नुहुन्छ,”।

चार दिने तालिममध्ये पहिलो दुई दिन सैद्धान्तिक र पछिल्ला दुई दिन प्रयोगात्मक हुनेछन् । सैद्धान्तिक कक्षामा गरिबी, गरिब परिचय पत्र, विवरण संकलन र परिचय पत्रको कानुनी पक्ष र प्राविधिक कक्षामा ट्याब्बकाे प्रयोग गरेर अनलाइन प्रणालीमा आधारित विवरण संकलन, भण्डारण गर्न र सम्बन्धित अधिकारीको पहुँचमा पठाउने विधि सिकाइने महानगरले जनाएको छ ।

प्रशिक्षणका लागि महानगरपालिकाले चैत ८ गतेदेखि १२ गतेसम्म २६ जना अधिकारीहरूलाई प्रशिक्षण दिएर प्रशिक्षकका रूपमा उत्पादन गरेको छ ।

तथ्याङ्क अधिकृत कृष्णराज तिवारीकाअनुसार जनगणना २०७८ ले महानगरपालिकाभित्र देखाएको घरपरिवार संख्या २ लाख ३८ हजार ९६६ लाई वडागतरूपमा हेरेर गणक र सुपरिवेक्षक खटाउने तयारी छ । १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्ने गरी समय र जनशक्ति खटाइनेछ ।

यसमा सबैभन्दा धेरै वडा नम्बर १६ र ३२ गरी २ वटा वडामा २१\२१ जना खटिनेछ । तिवारीकाअनुसार वडा नम्बर ६ र ३१ मा १४\१४ जना, वडा नम्बर १५ मा १२ जना, वडा नम्बर १४ मा ११ जना, ४ र ७ मा १०\१० जना जनशक्ति परिचालन हुनेछन् ।

यस्तै वडा नम्बर २६ र १३ मा ९\९ जना, वडा नम्बर ३, ९ र १० गरी ३ वटा वडामा ८\८ जना जनशक्ति खटिनेछन् । वडा नम्बर २९ मा ६ जना, वडा नम्बर १७ र ३० मा ५\५ जना, वडा नम्बर ५ मा ४ जना, वडा नम्बर २, ११, २१ र २८ मा ३\३ जना खटिनेछन् । वडा नम्बर ८, १२, १८, १९, २० र २५ गरी ६ वटा वडामा २\२ जना खटिनेछन् । वडा नम्बर १, २२, २३, २४ र २७ गरी ५ वटा वडामा १\१ जना जनशक्ति खटिने महानगरले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !