१९ बैशाख २०८१, बुधबार

कृषिमा आधुनिकीकरण गर्नेगरी कृषि नीति बनाइरहेका छौँः मन्त्री ज्वाला

प्रकाशित मिति :  3 April, 2024 11:40 am


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्नेगरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छन् ।

बुधवार काठमाडौँमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रूपमा रहेको बताइन् । उनले मकैलाई प्रोत्साहन हुनेगरी र वास्तविक किसानहरूलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभुति दिनेगरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको बताइन् ।

उनले नेपालमा मकैको उत्पादन डरलाग्दो रूपमा घटिरहेको जिकिर गरिन् । उनले सरकारले बनाइरहेको कृषि नीतिमा कृषि बालीहरुलाई प्रोत्साहन दिनेगरी कार्यक्रमहरू ल्याउने र मकैलाई बढावा दिनेगरी नीति निर्माण गरिरहेको बताइन् ।

उनले भनिन्,”नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रूपमा पर्छ । मकैलाई प्रोत्साहन हुनेगरी, अझ किसानहरूलाई जो वास्तविक किसानहरूलाई पहिचान दिनेगरी, उत्साहित गराउने गरी, सहानुभुति दिनेगरी कम्तिमा कृषिमा आधुनिकीकरण गर्नेगरी हामीले लैजान सक्यो भने किसानमा मात्र नभइ आम जनतामा जो जति बसेका छन् आफ्नोआफ्नो सेक्टरमा बसेर काम गरिरहनुभएको छ, सबैलाई उत्साह दिनेछ ।”

मन्त्री साहले मकै अहिले ९ लाख ८५ हजार हेक्टरमा मकै उत्पादन भइरहेको बताइन् । वास्तविक किसानलाई पहिचान गरी १२ वर्षको लागि सहुलियत ऋण दिने व्यवस्था गर्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्, “मकैको बारेमा मैले ब्रिफिङ लिएँ, स्थिति एकदम भयानक अवस्थामा दुर्घटना हुने अवस्थामा छ । अहिले हामी कृषि नीति बनाएको पनि अवस्था छ । जसको नेतृत्व मैले आफैँ गरिरहेको छु । जहाँ २०१५ देखि २०३५ सम्मको कृषि नीति । कृषि नीतिले यस्तो खालको उद्देश्य बोकेको छ, त्यो उद्देश्य यो मकैलाई कृषिमा जतिपनि बालीहरू हुन्छ, कम्तिमा प्रोत्साहन दिनेगरी कार्यक्रमहरू ल्याउने र यो मकैलाई बढावा दिनेगरी जहाँ नेपालमा जतिपनि खालि जग्गाहरू छ, स्थनीय सरकार, प्रदेश सरकार, संघीय सरकारसँग तीन वटै सरकारसँग जो हामी तीन खम्बे नीतिमा अघि बढ्ने प्रयासमा छौँ ।

मन्त्री साहले कृषि उत्पादनको बजारीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !