१२ श्रावण २०८१, शनिबार

विदेशमा बसेका नेपालीहरूका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था

प्रकाशित मिति :  4 April, 2024 12:14 pm


काठमाडौँ । कन्सुलर सेवा विभागले आजबाट विदेशमा बसेका नेपालीहरूका गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत दर्ता गराउन सक्नेगरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ ।

बिहीवार विभागस्थित कार्यालयमा एक कार्यक्रमबिच गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत सहजै दर्ता गराउन सक्ने अनलाइन प्रणालीको शुभारम्भ गरेको हो ।

नयाँ मोड्युलको अनलाइन प्रणालीको शुभारम्भ गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कन्सुलर सेवा अनलाइनबाटै लिनसक्ने कामको प्रचारप्रसार गर्न नसक्दा विभागमा धाइरहने समस्या रहेको भन्दै व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । उनले आजबाट प्रारम्भ भएको नयाँ मोड्युलले सबै नियोगहरूमा तथा देशभित्र र बाहिर पनि सबैले कन्सुलर सेवा प्राप्त गर्नका निम्ति अनलाइनबाट नै सेवा लिन सकिने व्यवस्था सुरू गरेको बताए ।

उपप्रधनमन्त्री श्रेष्ठले सरल र पारदर्शी ढंगले कन्सुलर सेवा हरेकले प्राप्त गर्नसक्ने व्यवस्थाअन्तर्गत नयाँ मोड्युल आजदेखि प्रारम्भ भएको बताए । उनले आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमीकहरू घाइते र मृत्यु भएको अवस्थामा उनीहरूको क्षतिपूर्ति सहितको माग दाबीका लागि दुतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्नसक्ने गरी व्यवस्था गर्ने पनि बताए । उनले समस्या समाधानका लागि घरबाटै फारम भरेर काम गर्नसक्ने व्यवस्था गर्न लागेको बताए ।

कन्सुलर सेवालाई गाउँपालिका, नगरपालिकाहरूबाट नै गर्नसक्ने अनलाइन प्रणाली सुरूवात गरिसकेको बताए । उनले नेपाल प्रहरीको चारित्रिक प्रमाणपत्रको लागि गाउँपालिका, नगरपालिकाहरूबाट नै गर्नसक्ने अनलाइन प्रणालीको व्यवस्था गरिसकेको बताए । उनले कन्सुलर सेवालाई अझ प्रभावकारी ढंगले अघि बढाउने काममा लागिरहेको जिकिर गरे ।

चालु आर्थिक वर्ष २०८०\०८१ को फागुन मसान्तसम्म विभागले प्रमाणीकरणका लागि सेवा प्रवाह गरिउका सेवाग्राहीको संख्या ३ लाख ७२ हजार ४२९, अनलाइन कन्सुलर प्रमाणीकरण सेवा लिने सेवाग्राही संख्या ३ लाख ३ हजार ७५१, प्रमााणिकरण गरिएका कागजातको संख्या ४ लाख २९ हजार ७४५, अनलाइन कन्सुलर प्रमाणिकरण गरिएका कागजातको संख्या ३ लाख ३ हजार ७५१, प्रमाणीकरणबाट उठेको राजश्व रकम २१ करोड ६१ लाख ७७ हजार ५३९ रहेको बताएको छ ।

विभागले आर्थिक वर्ष २०८०\०८१ को फागुन मसान्तसम्म प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणबाट उठेको जम्मा राजश्व १५ करोड १८ लाख ७५ हजार ५ सय, अन्य कागजातबाट उठेको राजश्व ६ करोड २९ लाख ९७ हजार उठेको बताएको छ । त्यस्तै आर्थिक वर्ष २०८०\०८१ को फागुन मसान्तसम्म विभिन्न देशमा गएका नेपाली नागरिकहरूको खोज, तलास तथा उद्धारका लागि पहल गरिएको संख्या ५ सय ९३, विदेशमा मृत्यु भएका वा घाइते भएका नेपालीहरू नागरिकहरुको क्षतिपूर्तिको रकम माग गर्न पठाइएको संख्या २०१, विदेशमा मृत्यु भएका नेपालीहरूको शव झिकाउने तथा विदेशमा दाहसंस्कार गरिएको संख्या १५२ रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !