१२ श्रावण २०८१, शनिबार

संघीयता सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको छः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  4 April, 2024 6:23 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताको सुदृढीकरणका लागि सरकारले ठोस पहल गरेको बताएका छन् ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीयता सुदृढीकरणका लागि सरकारले ठोस पहल गरिरहेको बताएका हुन् ।

उनले तहगत अधिकार क्षेत्रमा स्पष्टता ल्याउन र अन्तर तह समन्वयलाई प्रभावकारी बनाउन ठोस पहल अगाडी बढाइएको उल्लेख गरे । उनले कार्यविस्तृतिकरण, राजश्व बाँडफाँट तथा संरचनामा देखिएको दोहोरोपना लगायतका अस्पष्टता र समस्या हल गर्न नीतिगत सुधारको प्रक्रिया अन्तिम चरणमा रहेको बताए ।

उनले संघीयता कार्यान्वयनका लागि विद्यमान समस्याहरु हल गर्ने ठोस पहलहरु भइरहेको पनि बताए । प्रधानमन्त्री दाहालले संघीय प्रहरी सम्बन्धी विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको बताए ।

प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनको अन्तिम चरणमा रहेको पनि उनको भनाई छ । उनले सार्वजनिक खरिद ऐन, जग्गा प्राप्ति सम्बन्धी ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सम्बन्धी ऐन, भूमी लगायतका सम्बन्धित ऐनमा संशोधनको कार्य अन्तिम चरणमा रहेको जानकारी दिए ।

प्रधानमन्त्री दाहालले सार्वजनिक सेवा प्रवाहमा सुधार भएको र नागरिकले सहजै सेवा पाउने अवस्था रहेको बताए । उनले रासायनिक मलको आपूर्ति सुनिश्चित गरी वितरण प्रणालीमा सुधार गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !