१२ श्रावण २०८१, शनिबार

पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजना नथप्न संसदीय समितिको निर्देशन

प्रकाशित मिति :  5 April, 2024 7:55 am


काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पुराना राष्ट्रिय गौरवका आयोजना सम्पन्न नगरी नयाँ आयोजनाहरु थप नगर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार बसेको सार्वजनिक लेखा समिति बैठकले यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति ऋषिकेश पोखरेलले सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने दायित्व सरकारको भएको भन्दै पुराना आयोजनाहरु सम्पन्न नगरी नयाँ–नयाँ थप्ने काम नगर्न निर्देशन दिए।

उनले वि. सं. २०८३/०८४ सम्म कम्तिमा बाटो र पुल निर्माण हुनेगरी हुलाकी राजमार्गसँग संवद्ध प्रश्तावित सडक मार्गको यकिन गरी विवरण उपलब्ध गराउन र हुलाकी राजमार्ग सम्पन्न गर्न अर्थमन्त्रालयलाई निर्देशन दिए।

उनले राष्ट्रिय निकुञ्ज क्षेत्रको रेखाङ्कनमा अफ्ठ्यारो रहेको भन्दै त्यसलाई सहजिकरण गर्न सरकारलाई निर्देशन दिने बताए। आगामी आर्थिक वर्षमा रेखाङ्कन गर्ने परिस्थिति नबने काम अगाडि बढ्नसक्ने अवस्था नभएको उनको भनाइ छ ।

सभापति पोखरेलले आयोजना प्रमुखलाई निश्चित अवधिसम्म वा कार्यसम्पादन नभएसम्म जवाफदेही बनाउन र निरन्तरता दिन सरकारलाई निर्देशन दिए। उनले हुलाकी राजर्माग र भौतिक मन्त्रालयसँग समेत जोडर अर्थ मन्त्रालयले उठाएका जे प्रश्नबीचको विभेदका विषयमा अर्थमन्त्रालयसँग जवाफ समितिलाई दिन आग्रह गरे।

पोखरेलले भने, “सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने दायित्व सरकारको हो । पुराना आयोजनाहरु सम्पन्न नगरी नयाँ–नयाँ थप्ने काम नगर्न आग्रह गर्दछौं ।”

उनले अहिलेसम्म हुलाकी राजमार्गको आयोजनाको १८ जना आयोजना प्रमुख हुँदा राजमार्गको भएको प्रगतिविवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिए।

उनले हुलाकी राजमार्ग भित्रका अलपत्र ठेक्काहरु चालु आर्थिक वर्षमा सक्ने गरी आधार तयार गर्न निर्देशन दिए। समितिले वैशाखको पहिलो हप्ता दुई प्रदेशमा हुलाकी राजर्मागको निरीक्षण गर्ने भएको छ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !