१७ बैशाख २०८१, सोमबार

ग्वार्को फ्लाइओभर निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीयको गुनासो, अनसन बस्ने चेतावनी

प्रकाशित मिति :  5 April, 2024 1:15 pm


काठमाडौँ । ग्वार्को फ्लाइओभर निर्माणमा भएकाे ढिलासुस्तीलाई लिएर स्थानीयहरूले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।

शुक्रवार ललतिपुरको ग्वार्कोमा निर्माणधिन फ्लाइओभर जेठ मसान्तसम्म सकिसक्न आग्रह गर्दै स्थानीयहरूले ध्यानाकर्षण गराएका हुन् । उनीहरूले जेठ मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने भएपनि त्यो अनुसारको योजना बनाएर काम नगरेको बताए ।

फ्लाइओभरको निरीक्षण र स्थानीयहरूलाई साथ दिन पुगेका वागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले परियोजना निर्माणमा धेरै नै ढिलासुस्ती भइरहेको बताए । उनले परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौँ उपत्यकारभर नै ट्राफिक प्रणालीमा असर परेको भन्दै समयमा नै काम सम्पन्न गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराए ।

उनले समयमा काम सम्पन्न हुन नसक्दा स्थानीयहरूलाई दैनिक जनजीवनमा असर परिरहेको उल्लेख गरे । उनले जेठ मसान्तसम्म सक्ने प्रतिवद्धताअनुसार काम नभए र समयमै काम नसकिए फ्लाइओभ्र निर्माणस्थलमै अनसन बस्न बाध्य हुने चेतावनी दिए ।

उनले भने, ‘यो परियोजना साह्रै नै ढिलासुस्ती भयो । यो नभइ नहुने परियोजना हो । यो परियोजना समयमै सम्पन्न हुन नसक्दा काठमाडौँ उपत्यकारभरकै ट्राफिक प्रणालीमा असर पारेको छ । स्थानीय जनतालाई दैनिक जीवन पनि सहज बनाइ चल्न सकेका छैनन् । तीन सिफ्टमै काम गरेर र एक्शन प्लान बनाएर जेठ मसान्तसम्म सक्ने भन्ने जुनक खालको प्रतिवद्धता गर्नुभएको छ, त्यही अनुसार काम भएको छ की छैन भनेर निरीक्षण गर्न आएका हौँ ।’

यता निर्माण कम्पनीले भने केही समय यता २४ सै घण्टा काम गरिरहेको बताएको छ । चार लेन सडकको बिच खण्डमा ३५ मिटर लामो पुल आवतजावतको संरचनासहित दूरी ५४० मिटर रहने फ्लाइओभरको १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।



प्रतिक्रिया दिनुहोस !