७ कार्तिक २०८१, बुधबार

पोखरा महानगरले अदालतको आदेश पालना नगरेको भन्दै स्थानीय आन्दोलित

प्रकाशित मिति :  5 April, 2024 4:53 pm


काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको आदेशलाई अवहेलना गरी फेवाताल सिमसार क्षेत्रका जग्गा भोगचलनमा रोक लगाएको भन्दै स्थानीयहरू आन्दोलित भएका छन् ।

आन्दोलित स्थानीयहरूले मेयर आचार्यले फेवातालको संरक्षण र संवद्र्धनमा लाग्नुको सट्टा उल्टै फेवाताल देखाएर सिमसारको नाममा स्थानीयलाई तर्साए र उठीवास लगाउन खोजेको भन्दै आन्दोलनमा उत्रिएका हुन ।

सर्वोच्च अदालतले फेवातालको ६५ मिटर मापदण्डभित्र रहेका संरचना हटाउन दिएको आदेशको अहिलेसम्म पकार्यान्वयन गर्न भने महानगरले सकेको छैन । स्थानीयहरूले अदालतको आदेश पालना नगर्ने, पहुँच र सम्बन्ध नपुग्नेलाई व्यक्तिगत जग्गा भोगचलन गर्न रोक लगाई अधिकारबाट वञ्चित गराउने, अनुहार, पहुँच, आदेश र मुखको भरमा कानून स्थापित गर्ने पोखरा महानगरको विभेद र ज्यादती अन्त्यको लागि भन्दै फेवातालका उपल्लो क्षेत्रका बासिन्दाहरू एकजुट भएका छन् ।

महानगरको ज्यादती विरुद्ध सशक्त रूपमा आन्दोलनको उत्रने स्थानीयले बताएका छन् । फेवाताल क्षेत्रका स्थानीय युवराज खतिवडाले पोखरा महानगरपालिकाले अदालतको आदेश पालना नगरेको बताए । उनले महानगरले आवासीय जमिनमा हक जमाउन खोजेको बताए ।

स्थानीय खतिवडाले फेवाताल क्षेत्रको आवासीय जग्गा सुरक्षित गर्नको लागि प्रयोग गर्दा नियन्त्रणमा लिएका सवारी साधनहरू फिर्ता गर्न अदालतले आदेश दिँदा समेत पालना नगरेको बताए । उनले जग्गाका मोहीहरू सम्बन्धित निकायहरुमा न्यायको लागि जान तयार रहेको बताए । उनले फेवाताल भन्दा ५ किलोमिटर माथि रहेको जग्गामा समेत महानगरले हक जमाउन खोजेको बताए ।

स्थानीय गीता भुजेलले पनि फेवाताल भन्दा ५ किलोमिटर माथि रहेको आफ्नो जग्गाको भोगचलन गर्न पाउनुपर्ने बताए । उनले जग्गामा प्लटिङ गरेर अन्य सबैले आफ्नो तरिकाले भोगचलन गरे पनि आफूहरुले प्लटिङ गरेर खेती गर्न महानगरले नदिएको गुनासो गरे । उनले पुर्खादेखि भोगचलन गर्दै आएको जग्गामा अहिले पनि प्रयोग गर्न पाउनुपर्ने बताए ।

स्थानीय ढकमाया भुजेलले पनि महानगरसँग पहुँच भएकाहरुले आफ्नो जग्गालाई प्लटिङ गरेर आफू अनकुलको बनाएको तर आफूहरुलाई महानगरले अवरोध गरेको बताए । उनले लालपूर्जा नभएका मानिसहरुले ५ तलाको घर बनाएर बस्ने तर लालपूर्जा भएकाहरुले खेती लगाएर पनि खान नपाउने भन्ने नहुने भन्दै सबै मिलेर न्यायको लागि आन्दोलन गर्ने बताए ।

महानगरपालिकाले आफ्नो चित्त नबुझ्ने र पहुँच नपुग्नेलाई डोजर लगाइ रोक लगाएकोे उनीहरूको आरोप छ । महानगरका मेयर आचार्यले आफ्नो चित्त बुझाईदिनेलाई प्लटिङ गरेर जग्गा कारोवार गर्न खुला छोडेको आरोप लगाए । उनीहरूले आवास क्षेत्रलाई मेयर आचार्यले हचुवाका भरमा सिमसार भन्दै स्थानीयलाई अनावश्यक दुःख र हैरानी दिँदै आएको बताए । वर्षौंदेखि जमिनको उपभोग गर्दै महानगरमा तिरो तिर्दै आएका जग्गाधनीलाई आफूखुसी भोगचलन गर्न रोक लगाउन नपाउने उनीहरूको माग छ ।



प्रतिक्रिया दिनुहोस !