१२ श्रावण २०८१, शनिबार

कानुन समितिको सक्रियताः विधेयकमा छलफल गर्न एकैदिन पाँच मन्त्रालयसँग छलफल

प्रकाशित मिति :  5 April, 2024 5:08 pm


काठमाडौँ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुङ्गोमा पुयाउन कानुन, न्याय तथा मानव अधिकार समितिले सक्रियता देखाएको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई समितिबाट छिटोभन्दा छिटो पारित गर्ने उद्देश्यका साथ कानुन, न्याय तथा मानव अधिकार समितिले दफावार छलफललाई तीव्रता दिएको हो ।

केही दिन अघिदेखि विधेयकमा परेको संशोधनको सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा निकायहरूसँग छलफल गरिरहेको समितिले शुक्रवार मात्रै पाँचवटा मन्त्रालयसँग सम्बन्धित विषय तथा दफाहरूमा छलफल गरेको छ ।

शुक्रवार (आज) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय, खानेपानी मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित विषय एवम् दफाहरूका सम्बन्धमा छलफल गरेको छ । छलफलका क्रममा सम्बन्धित मन्त्रालयका मन्त्रीहरू तथा सचिवहरूको उपस्थिति रहेको थियो ।

आजको बैठकमा विधेयकमा गृह मन्त्रालयसँग सम्बन्धित विधेयकको दफाहरू ५३ र ७४ मा परेको संशोधनलाई गृह मन्त्रालयले स्वीकार गरेको जनाएको छ भने अन्य मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल भए पनि कुनै निष्कर्ष निस्किन सकेको छैन ।

समिति सभापति विमला सुवेदीले दफावार छलफलका क्रममा निष्कर्षमा पुगेका विषयलाई सोही अनुसार गर्ने र निष्कर्षमा पुग्न बाँकी रहेका विषयलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धितसँग थप छलफल गर्ने र आगामी दिनमा बस्ने समितिको बैठकमा छलफल गरी निष्कर्षमा पुगिने बताए ।

समितिको अर्को बैठक चैत्र २५ गते आइतबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !