१२ श्रावण २०८१, शनिबार

‘ठमेल र दरबारमार्गमा रात्रीकालीन व्यवसाय सञ्चालन आए नेपालकै नमूना पर्यटकीय नगरी बन्छ’

प्रकाशित मिति :  5 April, 2024 6:31 pm


काठमाडौँ । ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला गर्ने सन्दर्भमा गृह मन्त्रालयमा सरोकारवालासँग छलफल भएको छ ।

शुक्रवार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा सरोकारवाला निकायहरुसँग छलफल भएका भएको हो । छलफलमा २४ सै घण्टा व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधि समेत बनाएको छ ।

कार्यविधिको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफलमा जानकारी गराए । उनले कार्यविधिमा राति १० बजेपछि मनोरञ्जनसहित सेवा प्रदान गर्ने व्यवसायीले अनिर्वायरूपमा ध्वनी नियन्त्रण ‘साउण्ड प्रुफ’ व्यवस्था गर्नुपर्ने बताए ।

उनले कार्यविधिमा बिहान ४ बजेसम्म सञ्चालनमा रहने त्यस्ता व्यवसायका लागि छुट्टै आचारसंहिता तयार पारिएको बताए । उनले जसमा श्रमिकको नाम थर ठेगानासहितको व्यक्तिगत विवरणको लगत तयार गरेर राख्नुपर्ने, डान्स बार, दोहोरी, लाइभ बार एण्ड लाउन्ज बार, पब, बार, क्लव र डिस्कोमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई ग्राहकको रूपमा प्रवेश गराउन नपाइने बताए ।

सीडियो बस्नेतले कार्यविधि अनुसार सम्पूर्ण रात्रिकालीन व्यवसायीका लागि सम्पूर्ण सुरक्षा तथा मापदण्ड व्यवस्था गरिएको बताए । उनले बिहान ४ बजेसम्म सञ्चालनमा रहने मनोरञ्जनात्मक व्यवसायका लागि केही थप आचारसंहिता व्यवस्था गरेको बताए ।

उनले अत्याधिक मादक पदार्थ सेवनबाट अचेत भएको सेवाग्राहीलाई घरसम्म पु¥याउन तथा सुरक्षितरूपमा बस्ने व्यवस्था मिलाउनुपर्ने, कलाकारहरूले गायन तथा पर्दशन गर्दा मौलिकता, संस्कृति झल्किने र सीपमुलक नृत्य प्रदर्शन गर्नुपर्ने, डान्सबार तथा नृत्य प्रदर्शन हुने ठाउँमा सजगतापूर्वक स्वस्थ मनोरञ्जन दिनेगरी गायन तथा नृत्य व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिएको उल्लेख गरे ।

छलफलमा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राजधानीका सडकमा माग्न बसेकाहरू दुःख पाएर भन्दा पनि व्यवसायिक उद्देश्यले आउने गरेको दाबी गरिन् । उपप्रमुख डंगोलले काम गर्न भन्दा माग्दा बढी कमाइ हुने गरेकाले सडक मानवमुक्त काठमाडौं बनाउने अभियान असफल भएको उल्लेख गरिन् ।

उनले चौबिसै घण्टा बजार खुला गर्ने निर्णय ठिकै भएपनि त्यसमा सुरक्षा र स्थानीयको सुत्न पाउने अधिकारको पनि ख्याल गरिनुपर्ने बताइन् ।न्युरोड जस्तो ठाउँमा दिउँसै सुरक्षा दिन सकस भइरहेका बेला रातिको सुरक्षाबारे सरकारले सोच्नुपर्नेमा जोड दिए ।

छलफलमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला गर्ने काम शुरु गर्न आवश्यक रहेको बताए । उनले ठमेल र दरबारमार्गका व्यापार व्यवसायको लागि ध्वनी प्रदुषण सतप्रतिशत कम गरेर वा अन्य सबै नियमन सतशत प्रतिशत गरेर गर्नसक्ने अवस्था नभएको बताए ।

छलफलमा स्थानीयवासी तथा व्यवसायीहरूले सरकारले सहज रुपमा बस्न पाउने अधिकार हनन नहुने र सहज रुपमा व्यवसाय वातावरण बनाउने र शान्ति सुरक्षा मजबुत हुनेगरी व्यवसाय सञ्चालन गर्न सुझाव दिएका छन् । उनीहरूले माथिको सटरमा क्लव सहज रूपमा सञ्चालन गर्ने दिने तर तलको सटरमा चिया बेच्न नपाउने वातावरण राज्यले बनाउन नहुने उनीहरूको सुझाव थियो ।

उपभोक्ताकर्मीहरूले उपभोक्ताको हकहितमा व्यवसाय सञ्चालन गर्ने कुराको स्वागत गरे । उनीहरुले उपभोक्तालाई गुणस्तरहिन र मूल्यमा ठगिनुपर्ने वातावरणको अन्त्य सरकारले गर्न सुझाव दिए ।

यता सरकारले श्रमिकलाई रात्रिकालीन समयमा वासस्थानसम्म पु¥याउनुपर्ने व्यवस्था मिलाउनुपर्ने, व्यवसायस्थलमा यौन तथा यौन उत्पीडन\शोषण र अमर्यादित व्यवहार नहुने अवस्था सुनिश्चित गर्नुपर्ने, श्रमजीवी महिला तथा कर्मचारीले पोशाक परिवर्तन गर्ने कोठामा सिसीटीभी राख्न नपाइने व्यवस्था गरिएको छ ।

व्यवसायी उपभोक्ता, श्रमिकले पालना गर्नुपर्ने आचारसंहितामा नाबालिकलाई कुनैपनि व्यापार व्यवसायमा राख्न नपाउने व्यवस्था गरिएको छ । भने, नाबालिक तथा नाबालिकलाई सूर्तिजन्य तथा मदिराजन्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । श्रमिकलाई नियुक्ति पत्र, पोसाक, परिचयपत्र, रात्रिकालीन भोजन, रात्रिकालीन समयमा निवाससम्म पुग्ने व्यवस्था मिलाउनुपर्ने मापदण्ड राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !