१२ श्रावण २०८१, शनिबार

दक्षिण कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  7 April, 2024 11:10 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्न लागेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा (हिजाे शनिवार) आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाई कार्यक्रममा दक्षिण कोरिया भ्रमणबारे जानकारी दिएका हुन् ।

संयुक्त राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरामा छलफल भएको पनि प्रधानमन्त्री दाहालले जानकारी दिए ।

दक्षिण कोरियाका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको जानकारी दिएका हुन् । “राष्ट्रसंघको अधिवेशनको बेलामा कोरियाका राष्ट्रपतिसँग पनि छलफल भएर दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने, सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरा पनि भएको छ,” प्रधानमन्त्रीले भने,राष्ट्रपतिजीले मलाई निम्ता पनि गर्नुभएको छ । सकेसम्म त्यो निमन्त्रणालाई स्वीकारेर कोरिया जाने तयारी पनि हामी गर्न खोज्दैछौँ ।”

दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा संयुक्त आरोहणले नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ बनाउने र पर्यटन प्रबर्धनमा ठूलो भुमिका खेल्ने प्रधानमन्त्रीको भनाइ थियो ।

“औपचारिक सम्बन्धको ५० वर्षको सन्दर्भमा यो आरोहणले एकातिर नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ, हाम्रो यसैपनि राम्रो सम्बन्ध छ, कोरिया र नेपालको । आउने दिनमा अझ बलियो र सुदृढ हुन्छ भन्ने विश्वास छ,”प्रधानमन्त्रीले भने, “पर्यटन प्रबर्धनको निम्ति पनि जुगल हिमाल आरोहण गर्ने प्रयत्नले निकै ठूलो भूमिका खेल्छ ।”

प्रधानमन्त्री दाहालले नेपाल र कोरियाको बीचमा विभिन्न क्षेत्रमा सहयोगको प्रगति हुँदै गएको बताए । उनले कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति निकै धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरिएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !