१७ बैशाख २०८१, सोमबार

गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन

प्रकाशित मिति :  7 April, 2024 11:35 am


काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक एंवम साहित्यकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ ।

मुक्तिनाथ दर्शन साहित्य समाजले शनिवार नेपाल पुलिस क्लब भृकृटीमण्डपमा आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्वारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो ।

उक्त कृतिको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुईँटेल, नेपाल सरकारका पूर्व सचिव एवम् समालोचक
गोपीनाथ मैनाली तथा स्रष्टाले विमोचन गरेका हुन् ।

कार्यक्रममा एआईजी राईले समाज रूपान्तरणमा नागरिक र प्रहरीबिचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरे । उनले प्रहरीको व्यस्त सेवामा रहेर पनि आफ्नो साहित्यिक अभियानलाई अगाडि बढाएको भन्दै लेखकलाई शुभकामना समेत दिएका थिए । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राडा लुईँटेलले उपन्यास सानो भएपनि उक्त उपन्यासभित्र धेरै विषयवस्तु भएको बताए ।

नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ समालोचक मैनालीले उपन्यासले नेपाली जीवनशैली, ग्रामीण परिवेशलाई उजागर गरेको बताए । उनले उपन्यासभित्र भाषाशैली केही नमिलेपनि उक्त कृति पठनीय रहेको उल्लेख गरे ।

उपन्यासका लेखक एवम् प्रहरी वरिष्ठ नायव निरीक्षक भण्डारीले स्कूल पढ्दादेखि नै आफूलाई साहित्य क्षेत्रमा रुचि जागेकाले साहित्य क्षेत्रलाई अगाडि बढाएको बताए ।



प्रतिक्रिया दिनुहोस !