२० बैशाख २०८१, बिहिबार

तेस्रो गल्याङ महोत्सव चैत ३० गतेदेखि, डेढ करोडको कारोबार हुने अपेक्षा

प्रकाशित मिति :  7 April, 2024 12:03 pm


काठमाडौँ । स्याङ्जाको गल्याङ नगरपालिकामा तेस्रो गल्याङ महोत्सव हुने भएको छ । गल्याङ उद्योग वाणिज्य संघको आयोजनामा चैत्र ३० गतेदेखी बैशाख ९ गतेसम्म तेस्रो गल्याङ महाेत्सव हुने भएको हो ।

उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर तेस्रो गल्याङ औद्योगिक व्यापार तथा कृषि महोत्सव आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएका हुन् ।

‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पुर्वाधार’ भन्ने मुल नारा सहित संस्थाको स्थापनाको दिन पारेर महोत्सव आयोजना गरिएको संघका अध्यक्ष डोल प्रसाद श्रेष्ठले जानकारी दिए ।

उक्त महोत्सवमा स्थानीय तथा स्वदेशी कृषि तथा औद्योगिक उत्पादनको प्रवर्धन एवम् संस्कृतिको जगेर्ना गर्न, खेलकुद क्षेत्रको संरक्षण र विभिन्न सांस्कृतिक कार्यक्रमहरूलाई विशिष्ट पहिचान बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवले झण्डै डेढ करोडको कारोबार गर्ने लक्ष्य आयोजकले लिएका छन् । संघको आफ्नो कुनै जग्गा तथा भवन नभएकोले महोत्सवबाट आम्दानी भएको केही रकमबाट उचित स्थानमा जग्गा खरिद गरिने बताइएको छ ।

महोत्सवमा कृषि, पर्यटन, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउनुका साथै यस क्षेत्रको संस्कृतिको जगेर्ना गर्दै आन्तरिक बजार सवलीकरणका लागि व्यवसायिक उत्पादन तथा निकासी योग्य वस्तुमा जोड दिने आयोजकले जनाएको छ ।

महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, गल्याङ डान्स आइडल प्रतियोगिता, खुला रत्यौली प्रतियोगिता, राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विषेश साँस्कृतिक प्रस्तुति, जिल्ला स्तरीय भलिबल प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक भेषभुषाहरुको प्रदर्शनी लगायत विभिन्न प्रदर्शनी एवम् प्रतियोगिताहरू हुने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !